लमजुङका बंगुरमा पुन: देखियो अफ्रिकन स्वाइन फिभर

बेँसीसहर नगरपालिका–६ का केही फार्ममा गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजिटिभ देखिएको हो ।

फाल्गुन ९, २०८२

आश गुरुङ

African swine fever re-appears in pigs in Lamjung

What you should know

लमजुङ — लमजुङका किसानले पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिन थालेको छ । सुंगुर–बंगुरजन्य पशुमा लाग्ने यो प्राणघातक विषाणुजन्य रोग २ वटा फार्ममा पुष्टि भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, लमजुङका अनुसार बेँसीसहर नगरपालिका–६ का केही बंगुर फार्ममा गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजिटिभ देखिएको छ ।

कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले २ वटा फार्ममा संक्रमण पुष्टि भएको र हालसम्म ११ वटा बंगुर बिरामी परेको जानकारी दिए । उच्च मृत्युदर भएको यो रोग छोटो समयमै महामारीको रुप लिन सक्ने भन्दै कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । घरपालुवा सुंगुर, बंगुर तथा जंगली बँदेलमा लाग्ने यस रोगका कारण ठूलो क्षति हुन सक्ने चेतावनी कार्यालयले दिएको छ ।

संक्रमित पशुमा उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने तथा ब्याउने पशु तुहिने जस्ता लक्षण देखिने डा. न्यौपानेले बताए । यस्ता लक्षण देखिएमा नजिकको पशु सेवा शाखा वा भेटेरिनरी अस्पतालमा तुरुन्त जानकारी गराउन उनले अनुरोध गरे ।

कार्यालयले सुंगुर तथा बंगुर पालकलाई खोर र परिसर क्षेत्रमा नियमित रुपमा चुना, ब्लिचिङ पाउडर, फर्मालिन, सोडियम हाईपोक्लोराइट लगायतका रसायन प्रयोग गरी निःसंक्रमण गर्न, शंकास्पद पशुलाई अलग राख्न तथा मरेका पशुलाई खाडल खनी सुरक्षित रुपमा गाड्न निर्देशन दिएको छ । होटल तथा रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन र तयारी दाना बाहेक अन्य आहारा दिनुपरे राम्ररी पकाएर मात्र खुवाउन पनि सुझाव दिइएको छ ।

कार्यालयले सुंगुर–बंगुर तथा सुंगुरजन्य पशुलाई एउटा फार्मदेखि अर्को फार्ममा लैजान वा बाहिरी जिल्लाबाट भित्र्याउन प्रतिबन्ध लगाएको छ । फार्ममा जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गरिएको छ ।

कार्यालयका अनुसार लमजुङका बंगुरमा यसअघि २०७९ सालमा पनि अफ्रिकन स्वाइन फिभर देखिएको थियो । त्यतिबेला १ हजार १ सयभन्दा बढी बंगुर मरेका थिए ।

डा. न्यौपानेका अनुसार यस रोगको खोप तथा उपचार उपलब्ध छैन । मानिसमा यो रोग नसर्ने भए पनि संक्रमण लागेपछि प्रायः सबै सुंगुर–बंगुर मर्ने भएकाले उच्च सतर्कता अपनाउनुबाहेक विकल्प नभएको उनले बताए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully