अहिले पनि यो सडकमा जोखिम मोलेर पिकअप जिप मात्रै चल्छन् । अन्य सवारीसाधन लैजान नसक्दा १५ किमीको भकुण्डे र २० किमीको रायडाँडा पुग्न स्थानीयले सास्ती खेपिरहेका छन् ।
What you should know
बागलुङ — दुई वर्षअघि सम्झौता भएर म्याद सकिन लाग्दा यहाँको रणनीतिक सडक अदालत चौपारीदेखि गौंडाकोट, तित्याङ हुँदै भकुण्डे रायडाँडा, बरेङ शान्तिपुर जोड्ने सडक ४० प्रतिशत मात्रै निर्माण भएको छ ।
२०८० चैत १६ गते सम्झौता गरेर दुई वर्षमा कालोपत्र गरिसक्ने लक्ष्य राखेको सडकमा म्याद सकिन एक महिना बाँकी छँदा बाहिरी कटिङ पनि नसकिएको हो । ठेकेदार र कन्सल्ट्यान्ट पक्षले भने ४० प्रतिशत काम सकिएको दाबी गरेको छ ।
कुल १५ किमी सडक कालोपत्र गर्ने गरी बिडारी तुँदी संयुत्त निर्माण कम्पनीले काम समयमा नगर्दा यो सडक अझै जोखिमको छ । अहिले पनि यो सडकमा जोखिम मोलेर पिकअप जिप मात्रै चल्छन् । अन्य सवारीसाधन लैजान नसक्दा १५ किमीको भकुण्डे र २० किमीको रायडाँडा पुग्न स्थानीयले सास्ती खेपिरहेका छन् ।
बागलुङ नगरपालिकाले रायडाँडालाई विशेष क्षेक्रमा राखेर सामाजिक विकासका कार्यत्रमलाई जोडेको छ । तर भौतिक विकास तर्फ सडककै सास्ती भएकोले अन्य सेवा प्रवाहमा पनि असर परेको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘अन्य धेरै काम राम्रा भएका छन्, तर जाने सडकको सुरुवाती नै अप्ठ्यारो भएपछि सबैको गाली खानु पर्छ,’ गौतमले भने, ‘अन्य वडाको सडक खराब हुँदा पनि रायडाँडाबासीले सास्ती खेपेका छौं ।’ वडा जोड्ने सडक नै नबनेपछि वडाभित्र राम्रो गरेर पनि नतिजा नआएको उनले बताए ।
ठेकेदार पक्षले तित्याङ र भकुण्डेको केही स्थानमा ग्याबिन बुन्ने र पर्खाल लगाउने काम भए पनि नाली निर्माण गरिसकेको छैन । कन्सल्ट्यान्ट कम्पनीका ईन्जिनियर पुरुषोत्तम गौतमले आगामी असारसम्म १५ किमी सडकको नाली र ग्याबिन बनाइसक्ने दाबी गरे ।
अहिलेसम्म यो सडकको ५ देखि ६ किमी खण्डमा मात्रै नालीको काम भइरहेको छ । उकालो बाटो भएकोले कतिपय घुम्तीमा ढलान गर्नुपर्ने डिजाइन पनि छ । कालोपत्र नै गरिसक्ने समयमा अझै माटो खन्ने र मापदण्ड अनुसार सडक चौडा बनाउने काम भइनसकेको स्थानीयको गुनासो छ । ‘यतिबेला कालोपत्र भएर गाडी चल्नु पर्ने हो, तर अझै दुई वटा डोजर राखेर सडक खन्दैछन्,’ स्थानीय उमाकान्त शर्माले भने, ‘काम कहिले सकिएला र सजिलो गरी घर जान पाइएला भन्ने भइरहेको छ ।’ एक/दुई स्थानमा मात्रै बनेको नालीलाई पनि व्यवस्थित बनाइएको छैन ।
सडकको सुरुवातको खण्ड गौंडाकोटमा पनि बाटो स्तरीय नभएपछि सवारीधनीले खराब सडकको नाममा चर्को भाडा समेत असुल्ने गरेका छन् । २० किमीको रायडाँडा बासीले जिपमा यात्रा गर्दा ६ सय बढी भाडा तिर्न बाध्य छन् । सुरुवातमा स्थानीयले चन्दा संकलन गरेर बनाएको यो सडक स्तरीय नभएपछि हरेक वर्ष समस्या भोग्नु परेको स्थानीय टिका थापाले बताइन् ।
एशियाली विकास बैंकको २८ करोड ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपीएफ) परियोजना मार्फत बैंकले यो सडककालागि ऋण दिएको हो । ठेक्का लगाएको डेढ वर्ष अर्थात गत साउनसम्म पनि यो सडकको काम सुरु नै नभएपछि नेपाल सरकराले कन्सल्ट्यान्ट पठाएको थियो । कन्सल्ट्यान्टको प्राविधिक सहयोगमा मात्रै यो कामले गति लिए पनि तोकेको समयमा ४० प्रतिशत मात्रै काम भएको हो । ‘समयमा काम गर्न नसके बनेको काम पनि बर्षातमा बग्छ,’ बागलुङ नगरपालिका–१० का अध्यक्ष तिलबहादुर थापाले भने, ‘समयमा काम गर्ने पद्दति नबन्दा जनताले सास्ती खेपेका छन् ।’
दैनिक उपभोग्य सामग्री र बिरामीले समयमा उपचारकालागि अस्पताल जान बढी दुःख पाएको थापाले बताए । यो सडक बनिसके रायडाँडादेखि दमेक, बरेङ हुँदै गुल्मीको शान्तिपुर जाने सडकमा पनि दोस्रो चरणको ठेक्का लगाउने सरकारी तयारी छ ।
२०५७ मा अदालत चौपारीदेखि गौंडाकोट, तित्याङ हुँदै रायडाँडा जाने सडकको ट्रयाक खुलेको थियो । सुरुवातमा सिगाना हुँदै तित्याङको कमलडाँडाबाट सुरुवातको ट्रयाक खुल्यो । २०५८ मा छोटो रुटको ट्रयाक खुलेपछि पनि कामले गति लिन सकेको थिएन । पटक पटक तत्कालीन जिल्ला विकास समिति, नगरपालिकालगायतका संस्थाबाट पनि यो सडक बनाउन ठेक्का लागेको थियो ।
सडक अलपत्र पर्दा भकुण्डे घुम्न जाने पर्यटकले पनि सास्ती खेपेका छन् । ‘मोटरसाइकलमा जान नसकिने बाटो छ, जिप लिएर पनि हैरानी खेप्नुपर्छ, पर्यटक लैजाने काम निकै चुनौतीको छ,’ बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले भने, ‘भकुण्डे जाने भनेपछि गाडी पठाउन धेरै पटक सोच्नुपर्छ ।’
तित्याङको सालबोट आसपासको क्षेत्रमा पानीको स्रोत व्यवस्थापन नगर्दा सडक हिलाम्मे छ । यसअघि नगरपालिकाले आन्तरिक स्रोतमा ढलान गरेको सडकमा समेत तार निस्केर जोखिमको बनेको छ । केही स्थानमा बगेको पहिरोले पनि सडक निर्माणमा असर गरेको छ । समयमा काम नसकेकोले चालु वर्षको बजेट कटौती भयो भने काम अझै अलपत्र पर्ने थापा गुनासो गर्छन् । ‘हामीले त नजिक भएर पनि सँधैको सास्ती खेपेका छौं,’ थापाले भने, ‘भकुण्डे आउने दुई वटै सडकमा अवरोध आइरहेको छ ।’
गलुवा हुँदै भकुण्डे जाने सडकमा एक्लेसालको पहिरोले वर्सेनि समस्या भइरहेको छ । उक्त सडकको द्वारा भन्ने स्थानमा अझै सडक जोखिमको छ । निर्माणाधीन सालबोटको सडक भने कहिले पूरा हुने निधो नभएको स्थानीयको गुनासो छ ।
यो सडक स्तरीय बनेमा रायडाँडादेखि जैमिनी नगरपालिका ३ को दमेक हुँदै बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरसम्म पुग्ने छोटो सडक बन्ने छ । यो सडकलाई प्रदेश गौरवको आयोजनाको रुपमा समेत लिने गरिन्छ। सडक समयमा स्तरीय नबन्दा भकुण्डे र रायडाँडाबासी बसाइँ सरेर सहर झरेका छन् । ‘वर्षौदेखि पहल गरेर सडक बनाउँदै छौं, स्तरीय सडक गाउँपुग्दा जनता गाउँमै नहुने चिन्ता छ’ स्थानीय मिलन केसीले भने, ‘समयमा पुर्वाधारका काम गर्न नसक्दा जनताको निरासा व्यहोर्न बाध्य छौं ।’
आसन्न निर्वाचनपछिको संसदले खरिद ऐन संशोधन गरेर काम नगर्नेलाई तत्काल हटाएर नयाँ ठेकेदारलाई काममा लगाउने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए ।
