मनाङमा नार्पाभूमिका मतदान केन्द्र अनुगमन हुन सकेनन्

मतदान हुन अब २ साता पनि बाँकी नरहँदा दुर्गम भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको हो ।

फाल्गुन ८, २०८२

आश गुरुङ

Polling stations in Narpabhumi, Manang could not be monitored

What you should know

लमजुङ — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकास्थित मतदान केन्द्रहरुको अनुगमन हुन सकेको छैन ।

मतदान हुन अब २ साता पनि बाँकी नरहँदा दुर्गम भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको हो । मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका ती मतदान केन्द्र पुग्न हिँडेर २ दिन लाग्छ । नार्पाभूमि गाउँपालिकाका वडा नं. १ देखि ३ सम्म नार क्षेत्रमा ३ र वडा नं. ४ र ५ को फू क्षेत्रमा २ गरी ५ वटा मतदान केन्द्र छन् ।

Polling stations in Narpabhumi, Manang could not be monitored

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिकाका ९ वटै मतदान केन्द्रको अनुगमन बुधबार मात्र सकिएको हो । चामे र तल्लो मनाङस्थित नासों गाउँपालिकाकामा रहेका मतदान केन्द्रको अनुगमन यसअघि नै भए पनि नार्पाभूमिका केन्द्रमा पुग्न नसकिएको उनले बताए ।

Polling stations in Narpabhumi, Manang could not be monitored

धर्मशालाभन्दा माथिल्लो क्षेत्रमा रहेको झरनाको झर्दै गरेको पानी जमेर बाटो अवरुद्ध भएपछि अनुगमन रोकिएको हो । समुद्री सतहदेखि करिब ३ हजार ३ सय मिटर उचाइमा रहेको उक्त स्थानमा पहरा काटेर बनाइएको पैदलमार्गमा झरनाको पानी जमेको छ । अन्य स्थानमा समेत बाटोमै पानी जमेकाले हिँड्न नसकिने अवस्था रहेको पौड्यालले बताए ।

Polling stations in Narpabhumi, Manang could not be monitored

बाटो खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी २० जना सुरक्षाकर्मी बेल्चा र गैंतीसहित खटाइएको उनले जानकारी दिए । बुधबार खटाइएका सुरक्षाकर्मीले बाटो खुलाउन सके–नसकेको जानकारी अझै प्राप्त नभएको उनले बताए । उक्त स्थान पुग्न चामे नजिकैको कोतोबाट सुरक्षाकर्मीलाई हिँडेर ६ देखि ७ घण्टा लाग्छ ।

Polling stations in Narpabhumi, Manang could not be monitored

‘झरना क्षेत्रमा फोन लाग्दैन । २ दिनलाई पुग्ने गरी खानपानको व्यवस्था गरिएको छ । ठाउँ निकै चिसो छ,’ उनले भने, ‘बाटो खुलाउन सकिए केही दिनमै मतदान केन्द्रमा पुग्छौं ।’ यसअघि बाटोको अवस्थाबारे जानकारी लिन सुरक्षाकर्मी पठाइएको र प्राप्त विवरणका आधारमा बाटो खुलाउन परिचालन गरिएको उनले बताए ।

नार्पाभूमिमा आउजाउ नै असम्भवजस्तै भएपछि गाउँ कार्यपालिकाले अस्थायी रुपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा छलफल अघि बढाएको थियो । तर स्थानीयले असहमति जनाएपछि गाउँपालिकाबाट औपचारिक सिफारिस नआएको प्रशासनले जनाएको छ । पालिकाबाट सिफारिस नआए आयोगसँग माग गर्न नसकिने प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

Polling stations in Narpabhumi, Manang could not be monitored

नार्पाभूमि गाउँपालिकामा कुल ४ सय ८८ मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार ५ वटै वडामा वडैपिच्छे मतदान केन्द्र कायम छन् । वडा नं. १ को वडा कार्यालय भवन, वडा नं. २ को नार आधारभूत विद्यालय, वडा नं. ३ को साम्डुछिरिङ गुम्बा, वडा नं. ४ को फू आधारभूत विद्यालय र वडा नं. ५ को वडा कार्यालय भवनमा मतदान केन्द्र तोकिएका छन् ।

Polling stations in Narpabhumi, Manang could not be monitored

कुल ७ हजार मतदाता रहेको मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । यसअघिको तुलनामा यसपटक २ सय २१ मतदाता थपिएका छन् ।

Polling stations in Narpabhumi, Manang could not be monitored

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully