गत बिहीबार बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग १ च ८६२१ भ्यान दुर्घटना भएको थियो ।
What you should know
बागलुङ — गत बिहीबार भएको स्कुल बस दुर्घटनामा धौलागिरि अस्पतालमा उपचाररत सबै घाइते डिस्चार्ज भएका छन् ।
गत बिहीबार बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग १ च ८६२१ भ्यान दुर्घटना भएको थियो । अब ६ जना मात्रै विद्यार्थी उपचारमा छन् । उक्त घटनामा घाइते भएका मध्ये २ विद्यार्थीको मृत्यु भएको छ ।
कक्षा ४ का सुजल छन्त्यालको उपचारको क्रममा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। कक्षा ८ का अमन बोहोराको बिहीबारै धौलागिरि अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संगम किसान उपचाररत छन् भने बाँकी ५ विद्यार्थी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । मणिपाल शिक्षण अस्पतालमा अनन्या किसान, आयान बोहोरा, सोलुमान रसाईली, निकित किसान र सुमन गैरेको उपचार भइरहेको हो ।
धौलागिरि अस्पतालमा भर्ना भएका १९ जना भने सबै उपचारपछि घर फर्केको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताए । उपचारको क्रममा शनिवार निधन भएका बालक सुजल छन्त्यालको आइतवार बिहान बागलुङ नगरपालिका–१ मालढुंगामा अन्ति संस्कार गरिएको हो । दुर्घटनाकै दिन निधन भएका अमन बोहोराका परिवारका सदस्य बिदेशबाट आएपछि अन्तिम संस्कार गरिनेछ ।
घाइतेको उपचारकालागि विद्यालयले खर्च दिएको छ भने मृतकको परिवारलाई काजकिरिया खर्च र कानून बमोजिम पाउने राहत रकम पनि विद्यालयले प्रदान गर्ने सहमति भएको एक अभिभावकले जानकारी दिए ।
दुर्घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा एक समिति गठन भएको छ । उक्त समितिको प्रतिवेदनको आधारमा विद्यालय, प्रशासन र सरोकारवाला बसेर थप निर्णय लिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
घटनापछि चालक बीरबहादुर थापा प्रहरी नियन्त्रणमा छन् । प्रहरीले पनि दुर्घटना बारे थप अनुसन्धान गरिरहेको छ । सोही घटनामा घाइते भएकी शिक्षक सारिका बोहोरा पनि उपचारपछि घर फर्केकी छिन् ।
