विभिन्न विद्यालयका २० जना शिक्षकलाई गुरुङ भाषाको खेमा लिपी सिकाउने उद्देश्यले तीनदिने प्रशिक्षण सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
What you should know
पर्वत — पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खेमा लिपी संरक्षण र विस्तारमा जुटेको छ ।
विभिन्न विद्यालयका २० जना शिक्षकलाई गुरुङ भाषाको खेमा लिपी सिकाउने उद्देश्यले तीनदिने प्रशिक्षण सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
महाशिला गाउँपालिकामा गुरुङ समुदायको बसोबास उल्लेख्य छ । ९ हजार ८ सय ५७ जनसंख्या रहेको यस गाउँपालिकामा २० प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास रहेको गाउँपालिका अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिए ।
‘गुरुङ भाषा बोल्ने तर लिपी चिन्न र लेख्न नसक्ने अवस्था छ,’ अध्यक्ष भुसालले भने, ‘विद्यालयका शिक्षकहरूले सिकेको खेमा लिपी आफ्नो विद्यालयमा गएर विद्यार्थीलाई सिकाउनु पर्नेछ ।’
गाउँपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत खेमा लिपीमा प्रकाशित गरेको थियो । देशभरमै खेमा लिपीमा नीति तथा कार्यक्रम ल्याउने पहिलो पालिका महाशिला भएको अध्यक्ष भुसालले दाबी गरे ।
गुरुङ शिक्षक नभएका विद्यालयबाट चार जना मगर शिक्षकलाई पनि खेमा लिपीको तालिम दिइएको उनले बताए । ‘आगामी वर्ष विद्यालयको स्थानीय पाठ्यपुस्तकमै खेमा लिपी समावेश गरिनेछ,’ उनले भने । अहिले विद्यार्थीहरूलाई हप्ताको एक दिन अतिरिक्त कक्षाको व्यवस्था गरी खेमा लिपी सिकाइने तयारी गरिएको पनि उनले जानकारी दिए ।
अर्को वर्ष मगर भाषाको तालिमसमेत शिक्षकहरूलाई उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । मगर भाषा संकटमा परेकाले पहिले भाषा र त्यसपछि मगर लिपीसमेत सिकाइने अध्यक्ष भुसालले बताए । समुदायस्तरमा पनि भाषाको तालिम आवश्यक रहेको माग बढ्दै गएको उनले उल्लेख गरे । भाषा तालिमका लागि तीन लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।
जनविकास माध्यमिक विद्यालय लामटुङकी शिक्षिका मनमाया गुरुङले खेमा लिपी प्रशिक्षण आफ्नो लागि उपयोगी मात्र नभई गर्वको विषय भएको बताइन् । ‘मातृभाषा गुरुङ भए पनि अक्षर चिन्न सक्दिनथें,’ उनले भनिन्, ‘गुरुङ संस्कृति र पहिचानलाई खेमा लिपीले जीवन्त बनाइराख्न सहयोग पुर्याउनेछ ।’ गाउँपालिका नै भाषा र लिपी संरक्षण अभियानमा जुटेकाले विद्यार्थीमाझ पुर्याउन सहज हुनेमा उनी विश्वस्त छिन् । खेमा लिपीका केन्द्रीय प्रशिक्षक भीम गुरुङले प्रशिक्षण दिएका थिए ।
