काम थालेको २५ वर्षपछि बसपार्क पूर्ण संचालन

बागलुङ नगरपालिका–४ को उपल्लाचौरस्थित दाबगरामा निर्माण भएको बसपार्क जग्गा सम्झौताको २५ वर्षपछि मात्र नियमित संचालनमा आएको हो ।

फाल्गुन २, २०८२

प्रकाश बराल

What you should know

बागलुङ — २५ वर्षअघि २०५७ सालमा स्थानीयको जग्गा लिएर सम्झौता गरेपछि सुरु भएको बागलुङ बसपार्क गत वर्षको असोज १ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । त्यसपछि पनि डेढ वर्षसम्म विभिन्न बाहनामा यो बसपार्क नियमित चल्न सकेन ।

गत साउनमा स्थानीय व्यवसायीले गरेको सम्झौता अनुसार पुरानो बसपार्क खाली गर्न समेत ७ महिना लाग्यो । बागलुङ नगरपालिका–४ को उपल्लाचौरस्थित दाबगरामा निर्माण भएको बसपार्क सम्झौताको २५ वर्षपछि मात्र नियमित संचालनमा आएको हो । 

बसपार्क संचालनकालागि गत साउनमै आरबी कन्स्ट्रक्सन प्रालि पोखरासँग बागलुङ नगरपालिकाले सम्झौता गरेको थियो । तर पुरानो बसपार्क समेत खाली नभएपछि यो नियमित चल्न सकेको थिएन । उक्त कम्पनीले हरेक वर्ष नगरपालिकाको खातामा १६ लाख २५ हजार, मूल्य अभिबृद्धि कर २ लाख ११ हजार र अग्रीम आयकर २७ हजार ५ सय ४३ रुपैयाँ समेत तिर्ने गरी सम्झौता भएको थियो । २५ वर्षमा उक्त कन्स्ट्रक्सनले बसपार्क संचालन गरेबापत बागलुङ नगरपालिकालाई ८ करोड ५५ लाख ६१ हजार रुपैयाँ भुक्तानी गर्नेछ । 

तर नियमित बसपार्कमा बस नजाँदा ठेकेदार कम्पनी घाटामा पर्ने भन्दै बिबाद भएको थियो । पुरानो बसपार्क खाली गर्न भने कतिपय व्यवसायी नमान्दा लामो समय स्थानीय र नगरपालिकाबीच रस्साकस्सी चल्यो । गत बुधबारदेखि भने पुरानो बसपार्क रहेको चिप्लेटी पूर्ण रुपमा खाली भएको छ । अब भने बसपार्क नियमित चल्ने र पुरानो स्थललाई बहुउद्देश्यीय रुपमा संचालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको नेतृत्वमा अध्ययन प्राविधिक समिति गठन गरिएको छ । उक्त समितिले १५ दिनभित्र दिने प्रतिवेदनका आधारमा चिल्टेली बसपार्कको व्यवस्थापन गरिने भएको हो । 

नगरपालिकाले नगरभित्र चल्ने जिप, माइक्रोबस, ट्याक्सी र अटोलगायतलाई व्यवस्थापन गर्न उक्त स्थान प्रयोगमा ल्याउन सकिने बारेमा समेत उक्त समितिले अध्ययन गरेर प्रतिवेदन दिनेछ । स्वच्छ नगर र सफा नगर बनाउने अभियानमा प्रतिवेदनको आधारमा काम गरिने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । उक्त स्थानलाई साना गाडीको पार्क बनाउन सकेमा बजारमा अव्यवस्थित पार्किङ रोकिने, सवारी दुर्घटना न्यूनीकरण हुने र सफा नगर बन्ने विश्वास लिइएको छ । 

हाल बनेर संचालनमा आएको बसपार्क भने टर्मिनल भवनसहित १७ रोपनी जग्गामा फैलिएको छ । यहाँ ३ वटा टिकट काउन्टर, १७ वटा सटर र ३ वटा कर्मचारी कक्ष समेत छ । बसपार्कमा महिला ६ र पुरुष १२ गरी १८ वटा शौचालय समेत छन् । मोटर ग्यारेज, ईभी चार्ज स्टेशन र खानेपानीको ट्यांकी समेत नगरपालिकाले निर्माण गरेर संचालनमा ल्याइसकेको श्रेष्ठले बताए ।

बागलुङ नगरपालिकाले नगर विकास कोषको ९ करोड ऋण सहयोगमा बसपार्क बनाएको हो । २०५७ मा यहाँका बासिन्दाले साढे १७ रोपनी जमिन निशुल्क दिएपछि बसपार्क निर्माणको काम सुरु भएको थियो । ठेक्कापट्टाको कामले ढिला हुँदा २०७७ जेठमा बसपार्क निर्माण सकिएको थियो । ५ वर्षदेखि बसपार्क बनेर पनि यो संरचना उपयोगविहीन थियो ।

बागलुङ नगरपालिकाले राजपत्र प्रकाशित गरेर ‘बसपार्क संचालन तथा व्यवस्थापन ऐन २०८१’ समेत जारी गरेको छ । बसपार्कलाई केन्द्रबिन्दु मानेर सवारी रुट संचालन गर्ने, सुरक्षा व्यवस्थाकालागि नगरप्रहरी खटाउने, जिल्ला प्रहरी, जिल्ला प्रशासन र ट्राफिक प्रहरीमा समन्वय गर्ने काम भने नगरपालिकाले लिने सम्झौतामा उल्लेख छ । बसपार्क जाने सडक ठूला बसकालागि साँघुरो भएकोले नगरपालिकाले बेनी जाने सडकबाट बसपार्क जोड्ने सडक निर्माण बनाइसकेको छ ।

बसपार्क निर्माणकालागि स्थानीय ६० परिवारले ५९ रोपनी जग्गा दिएका थिए । १७ रोपनीमा बसपार्क बनिसकेपछि बाँकी जग्गा घडेरी बनाएर उपभोक्तालाई हस्तान्तरण गर्ने शर्त छ । उक्त जग्गामा १ सय २ वटा घडेरी स्थानीयलाई फिर्ता गर्नुपर्नेछ । उक्त काम भने नगरपालिकाले अझै अगाडि बढाएको छैन । 

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully