फेवातालमा जालमा अड्किएर आयो एसएलआर राइफल

प्रहरीका अनुसार ‘मु वा १११ (बट)’ नम्बर तथा बडी नम्बर १३८१० लेखिएको एसएलआर हतियारसँगै लोड भएको १८ राउन्ड गोलीसहितको १ थान म्यागजिन पनि बरामद भएको छ ।

फाल्गुन १, २०८२

दीपक परियार

पोखरा — पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा जालमा एसएलआर राइफल फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार साँझ करिब ५ बजे स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्ने क्रममा हतियार भेटिएको सूचना दिएका थिए ।

सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तालमा अड्किएको अवस्थामा एसएलआर राइफल १ थान बरामद गरेको हो।

प्रहरीका अनुसार ‘मु वा १११ (बट)’ नम्बर तथा बडी नम्बर १३८१० लेखिएको उक्त एसएलआर हतियारसँगै उक्त हतियारमा लोड भएको १८ राउन्ड गोलीसहितको म्यागजिन १ थान पनि बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले हतियार कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। 'प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ,' उनले भने।

फेवातालजस्तो पर्यटकीय क्षेत्रको बीचमा अत्याधुनिक हतियार भेटिनुले सुरक्षाका दृष्टिले चासो थपिएको छ । प्रहरीले हतियार तालमा कसरी र कहिले पुगेको भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully