राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकनमा ७० दशमलव २२ अंकसहित देवचुली पहिलो भएको हो ।
What you should know
नवलपरासी — पूर्वी नवलपरासीका आठ स्थानीय तह मध्ये देवचुली नगरपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ ।
स्थानीय तहहरुको मूल्यांकन गर्ने निकाय राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकनमा ७० दशमलव २२ अंकसहित देवचुली पहिलो भएको हो ।
त्यस्ते विनयी त्रिवेणी गाउँपालिका दोस्रो बनेको छ । कार्य सम्पादन मूल्यांकनमा यो गाउँपालिकाले ६८ दशमलव ४६ अंक प्राप्त गरेको छ । हुप्सेकोट गाउँपालिका ६७ दशमलव ५९ अंकसहित तेस्रो भएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिका चौथो स्थानमा छ । पाँचौं स्थामा गैंडाकोट नगरपालिका परेको छ । गैंडाकोटले ५९ दशमलव ६४ अंक पाएको छ। मध्यविन्दु नगरपालिका छैठौं स्थानमा रहेको छ । यस्ले ५८ दशमलव ५२ अंक पाएको छ ।
बौदीकाली गाउँपालिकाको सातौं स्थानमा रहेको छ । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा पुछारमा पहाडी क्षेत्रको बुलिङटार गाउँपालिका रहेको तथ्यांकले पुष्टि गरेको छ । आयोगले स्थानीय तहमा कूल १७ सूचकमा मूल्यांकनको काम गरेर नतिजा निकाल्दै आएको छ ।
हरेक असार १० गतेभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेकोलगायतलाई मूल्यांकनको सूचक मान्ने आधार रहेको छ ।
यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सुत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भवती जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोपको पहुँचलगायतका आधारलाई आयोगले मूल्यांकन गर्दै आएको छ ।
पूर्वी नवलपरासीमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् । यहाँको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले कार्यालय भवन समेत बनाउन सकेका छैनन् । अन्य पालिकाले पालिका भवन कार्यालय र वडा कर्यालयको भवन समेत निर्माण गरेर कार्यसम्पादन गर्दै आएका छन् ।
