कालीगण्डकी किनारमा १८ वटा शवदाह स्थल निर्माण

गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार संघीय सरकारसँगको लागत साझेदारीमा २ करोड ५८ लाख रुपैयाँको बजेटमा व्यवस्थित शवदाह स्थलको पूर्वाधार निर्माण भइरहेको छ ।

फाल्गुन १, २०८२

सुमनजंग थापा

पर्वत — पर्वतको जलजला गाउँपालिकामा १८ वटा शवदाह स्थलको निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाभित्रका अधिकांश वडाका स्थानीयले अन्तिम दाहसंस्कार कालीगण्डकी किनारमा गर्ने गर्छन् । अव्यवस्थित शवदाहका कारण मलामीहरूले सास्ती भोग्नुपरेको थियो ।

गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार संघीय सरकारसँगको लागत साझेदारीमा २ करोड ५८ लाख रुपैयाँको बजेटमा व्यवस्थित शवदाह स्थलको पूर्वाधार निर्माण भइरहेको छ ।

निर्माण कार्य अन्तर्गत आकाशबाट पानी परेको अवस्थामा शवदाह गर्न मिल्ने सतल, घाटसम्म पुग्ने पदमार्ग, कपडा फेर्ने स्थान, मलामी बस्ने आश्रयस्थल, शौचालय, खानीपानी र बिजुलीको व्यवस्था गरिनेछ । सम्पूर्ण निर्माण यही वर्षभित्रै सम्पन्न हुने जनाइएको छ ।

अध्यक्ष आचार्यले बनबढे, डाडाकटेरी, लोप्रे, कुवापानी र बनौंलगायतका ठाउँमा समेत घाट निर्माणाधीन छन् । व्यवस्थित शवदाह स्थलले धुँवा, फोहोर र मानव अवशेष अनियन्त्रित रूपमा नदी र बस्तीमा पुग्ने जोखिम हटाउने उनले बताए।

कालीगण्डकीको घाट आसपास धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार वर–पिपल रोप्ने प्रचलन छ । पूर्वाधारसहितको घाट र वर–पिपलको संरक्षणको जिम्मा समुदायमै हस्तान्तरण गरिने अध्यक्ष आचार्यले बताए।

कालीगण्डकी नदी किनारका लस्ती, डमुवाखोला, खनियाघाट, मिलनचोक, वारीबेनीलगायतका घाटमा व्यवस्थित भौतिक पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । वडा ६ शालिजामा पहिले नै दुई वटा व्यवस्थित घाट निर्माण भइसकेका छन् ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully