बागलुङमा स्कुल भ्यान दुर्घटना : घाइतेको संख्या २६ पुग्यो, ५ जनालाई पोखरा पठाइयो [अपडेट]

बागलुङ नगरपालिका-१ को न्यु एभरेष्ट बोर्डिङ स्कुलको भ्यान बागलुङ-४ स्थित पाखाथरमा साढे ४ बजेतिर सडकदेखि झण्डै ६० मिटर तल तल्लो घुम्तीमा खसेको हो ।

माघ २९, २०८२

प्रकाश बराल

बागलुङ — शुक्रबार दिउँसो विद्यालय छुटेर घर फर्केका बालबालिका बोकेको स्कुल भ्यान दुर्घटनामा घाइतेको संख्या २६ पुगेको छ । चालकसहित २६ जना घाइतेको धौलागिरि अस्पतालमा प्राथमिक उपचार भएको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

बागलुङ नगरपालिका-१ को न्यु एभरेष्ट बोर्डिङ स्कुलको भ्यान बागलुङ-४ स्थित पाखाथरमा साढे ४ बजेतिर सडकदेखि झण्डै ६० मिटर तल तल्लो घुम्तीमा खसेको हो । ग १ च ८६२१ नम्बरको भ्यान खस्दा घाइते भएकामध्ये ५ जना गम्भीर घाइतेलाई पोखरास्थित गण्डकी अस्पताल रिफर गरिएको छ । अन्य २१ जनाको धौलागिरि अस्पताल बागलुङमा उपचार भैरहेको छ । 

अस्पतालमा बिरामीका आफन्त, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीसमेत सयौं पुगेका थिए । अस्पतालले गेट बन्द गरेर बिरामीको उपचार गराएको थियो । बेलुकी अबेरसम्म पनि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु उपचारमा व्यस्त छन् । अस्पताल बाहिर सयौं अभिभावकको भीड लागेकोले प्रहरीले सुरक्षा सतर्कता पनि बढाएको छ । 

प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुको साथै अस्पतालमा पनि सुरक्षा दिएको बतायो । प्रहरी उपरीक्षक तीलक भारती र प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेसहितको टोली नै घटनास्थलमा उद्धार लगायतमा खटेकोले थप विवरण आइनसकेको हो । दुर्घटनाको कारण समेत खुलेको छैन । 

बिरामी धेरै भएकोले नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्रमा विभिन्न रक्त समूहका व्यक्ति गएर रगत दिइरहेका छन् । अस्पताले आवश्यक परेको रगत समूहबारे जानकारी दिएपछि सम्पर्कमा रहेका व्यक्तिहरु गएका हुन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully