इनरोलमेन्ट र राहदानी वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटर बिग्रिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको प्रशासनले जनाएको छ ।
लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा बिहीबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
इनरोलमेन्ट र राहदानी वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटर बिग्रिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार राहदानी विभागले कार्यालयलाई इनरोलमेन्ट गर्ने र राहदानी इस्यु गर्ने गरी दुईवटा मात्र कम्प्युटर उपलब्ध गराएको थियो । ‘सुरक्षाका कारण राहदानी विभागबाट प्राप्त सिस्टम अन्य कुनै कम्प्युटरमा चल्दैन,’ उनले भने, ‘इस्यु गर्ने कम्प्युटर यसअघि नै बिग्रिएर विभागमा पठाइएको थियो । अहिले इनरोलमेन्ट गर्ने कम्प्युटर पनि बिग्रिएपछि सेवा पूर्ण रुपमा रोकिएको हो ।’
उनका अनुसार यसअघि मर्मतका लागि पठाइएको कम्प्युटर कहिले फर्किन्छ भन्ने यकिन छैन । ‘कम्प्युटर आएपछि मात्र सेवा सुचारु हुन्छ,’ उनले भने । कम्प्युटर नआएसम्मको लागि राहादानी वितरण समेत रोकिएको उनले बताए ।
इनरोलमेन्ट कम्प्युटरमार्फत सेवाग्राहीको विवरण प्रविष्ट गर्ने, आवश्यक कागजात स्क्यान गर्ने तथा बायोमेट्रिक विवरण लिने काम गरिन्छ । इस्यु गर्ने कम्प्युटरबाट तयार राहदानी वितरण गरिन्छ ।
जेनजी आन्दोलनका क्रममा केही जिल्ला प्रशासन कार्यालयका राहदानी सम्बन्धी कम्प्युटर जलेर नष्ट भएपछि राहदानी विभागले आफूसंग भएका कम्प्युटर त्यहाँ पठाउनुपरेको र तत्काल अतिरिक्त कम्प्युटर नरहेको जानकारी गराएको गौतमले बताए । अतिरिक्त कम्प्युटर भए पनि सेक्युरिटीका कारण नचल्ने समस्या हुने उनले बताए ।
सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै राहदानी सेवा शीघ्र सुचारु गराउन पहल भइरहेको जनाएको छ ।
