बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोडिङ स्कुलको भ्यान वडा–४ स्थित पाखाथर भन्ने स्थानमा बिहीबार साँढे ४ बजे सडकदेखि झण्डै ६० मिटर तल तल्लो घुम्तीमा खसेको हो ।
बागलुङ — विद्यालय छुट्टी भएर घर फर्केका बालबालिका बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।
बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोडिङ स्कुलको भ्यान वडा–४ स्थित पाखाथर भन्ने स्थानमा बिहीबार साँढे ४ बजे सडकदेखि झण्डै ६० मिटर तल तल्लो घुम्तीमा खसेको हो ।
ग १ च ८६२१ नम्बरको भ्यानमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । दुर्घटनामा घाइते भएका २३ जना विद्यार्थीको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अस्पताल बाहिर अभिभावकको भीड लागेको छ । अहिले प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुको साथै अस्पतालमा पनि सुरक्षा दिएको छ । घटनाको थप विवरण आउन सकेको छैन ।
प्रहरी उपरीक्षक तीलक भारती र प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेसहितको टोली समेत उद्धारलगायतमा खटिएका छन् । दुर्घटनाको कारण समेत खुलेको छैन ।