जिल्लामा १ सय ३० मतदानस्थल, १ सय ९२ मतदान केन्द्र तथा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
What you should know
लमजुङ — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा १ हजार ५ सय बढी कर्मचारी खटाइने भएको छ।
जिल्लामा १ सय ३० मतदानस्थल, १ सय ९२ मतदान केन्द्र तथा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिनिधिसभाको लागि एउटामात्रै निर्वाचन क्षेत्र रहेको लमजुङका प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ देखि ३ जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र २ देखि ३ जना स्वयंसेवक गरी बढीमा ९ जना कर्मचारी खटाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जानकारी दिए ।
५ सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा स्वयंसेवकसहित ९ जना र अन्य केन्द्रमा ८ जना कर्मचारी रहने व्यवस्था गरिएको उनले बताए ।
ढकालका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि निजामति कर्मचारीलाई प्राथमिकतामा राखिनेछ । त्यसपछि नेपाल सरकार स्वामित्वका संघसंस्थानका कर्मचारी र अपुग भएमा शिक्षक खटाइनेछन् ।
उनका अनुसार १ हजार २ सय बढी कर्मचारी र ३ सय बढी स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवकलाई सम्बन्धित मतदान केन्द्रमै पुगेर मतदान अधिकृतले नियुक्त गर्ने व्यवस्था गरिएको छ ।
‘अहिले सबै कार्यालय तथा संघसंस्थाबाट कर्मचारीको सूची माग गरिएको छ,’ ढकालले भने, ‘हामी वर्गीकरण गर्ने तयारीमा छौं, त्यसपछि खटाइनेछ ।’ उनका अनुसार फागुन १८ गते सबै कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगेर आवश्यक तयारीका काम गर्नेछन् ।
कर्मचारीलाई आफ्नै मत खसाल्ने मतदान केन्द्रमा नखटाइने व्यवस्था गरिएको छ । शिक्षकलाई भने आफ्नै मतदान केन्द्र र आफू कार्यरत स्थानीय तहभन्दा बाहिर खटाइने मुख्य निर्वाचन अधिकृत ढकालले बताए ।
प्रमुख जिल्ला अधिकारी उमेश ढुंगानाका अनुसार कर्मचारी छनोटका लागि सबै कार्यालयसँग विवरण माग गरिएको छ । ‘सूची आएपछि वर्गीकरण गरेर आवश्यक कर्मचारी छनोट गरिन्छ,’ उनले भने ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार लमजुङमा यसपटक १ लाख ३७ हजार १ सय २४ जना मतदाता रहेका छन् । तीमध्ये महिला मतदाता ६९ हजार ५ सय २४ र पुरुष मतदाता ६७ हजार ६ सय जना हुन् ।
२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाता संख्या ३ हजार ४ सय ७ जनाले बढेको हो । अघिल्लो निर्वाचनमा जिल्लामा १ लाख ३३ हजार ७ सय १७ जना मतदाता थिए।
