गैरकानुनी विदेश यात्राले जोखिमको चाङ

विदेश जान गैरकानूनी बाटो रोजेकै कारण गत वर्ष बागलुङका १ सय ३८ जना विदेशमा समस्यामा परेका थिए। चालु वर्ष पनि ३२ वटा समस्यामा परेका उजुरी आइसकेका छन् ।

माघ २६, २०८२

प्रकाश बराल

Illegal foreign travel increases risk

What you should know

बागलुङ — आर्कषक काम र राम्रो कमाइको लोभमा काठेखोला गाउँपालिका–३ की ४५ वर्षीया एक महिला गैरकानुनी रुपमा कुवेत पुगिन् । भिजिट भिसामा गएकी उनी त्यहाँ कामदार बनेकी थिइन् । विदेशमा धेरै कमाइ गर्ने चाहनाले पुगेकी उनी दुई वर्ष त्यहाँ अनेक पीडा सहेर घरेलु कामदार बनिरहिन् ।

त्यसपछि घर फर्कने योजना बनाएर निस्कन खोज्दा मात्र उनले आफू ‘बेचिएको’ थाहा पाइन् । उनलाई काममा लगाइरहेका मालिकले किनेर ल्याएकोले अन्य काममा बेच्न मात्र सक्ने, फर्काउन नसक्ने बताए । त्यसपछि ती महिला झस्किइन् । उनले तत्काल परिवारमा सम्पर्क गरिन् । छोराछोरी र पतिलाई पीडा सुनाएपछि बल्ल परिवारले उनको रिहाइको पहल थाल्यो । गत महिना सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मार्फत उनलाई फिर्ता ल्याइयो ।

काम गरिरहेको घरबाट निकाल्न उनलाई एजेन्टको प्रयोग गरियो । ती एजेन्टले पनि अर्को घरमा बेच्ने प्रयास गरेपछि एक महिनाको रस्काकस्सीपछि मात्र ती महिला फर्कन सकेकी हुन् । कुबेतस्थित दूतावासले सहयोग गरेर उनलाई नेपाल फर्कन सघाएको केन्द्रकी परामर्शदाता गंगाकुमारी शर्माले बताइन् ।

काठेखोला गाउँपालिकाकी कार्यपालिका सदस्य सुन्तली विकको पहलमा केन्द्र र दुतावाससम्म प्रयास भएको थियो । तत्काल उद्धार गर्न नसकेको भए ती महिलाको ज्यान नै जोखिममा थियो । अहिले घर फर्केकी ती महिलाले भिजिट भिसामा कामदार बनेर जानुको समस्याबारे बल्ल बुझेको बताइन् । गैरकानूनी रुपमा गएका कामदार फर्कन खोज्दा मृत्युको मुखमा पुग्ने गरेको उनले बताइन् ।

बागलुङ नगरपालिका–९ का एक युवा पनि गैरकानूनी रुपमा फोर्चुगल हिँड्दा एजेन्टले युक्रेन लगेर छाडिदिए। गत वर्ष युक्रेन पुगेपछि उनी बेरोजगार भए । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ र केन्द्रकै पहलमा उनलाई युक्रेनबाट गत महिना फिर्ता ल्याइएको छ । उनी युक्रेनमा ६ महिना बन्धक थिए ।

गैरकानूनी बाटो बैदेशिक रोजगारीमा जानेहरु यस्तै समस्यामा परिरहेका छन् । कतिपयको मृत्यु समेत भएको छ । अधिकांशले भिजिट भिसामा विदेशको यात्रा गरेका छन् भने वैधानिक रुपमा गएकासमेत अप्ठ्यारोमा परेका छन् । वैधानिक रुपमा गएकाहरुले भने ढिला भए पनि राहत, क्षतिपुर्ति र बिमा रकम पाएका छन् । तर गैरकानूनी रुपमा गएकाहरुको न राहत पाइन्छ न बिमाको सुविधा छ ।

गत वर्ष नै पर्यटक भिसामा ओमान गएकी एक महिला घरेलु कामदारको रुपमा बस्दा हिंसामा परेर धेरै दुःख पाइन् । उनले सहारा नपाएपछि बागलुङस्थित आप्रवासी स्रोत केन्द्रले नै उद्धार गरेको थियो । पर्यटक भिसामा गएकोले उनले काम गरेको पैसा पाउन सकिनन् । पीडकलाई कारवाही गर्ने अवसर पनि मिलेन । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन केन्द्र सफल भयो । तर उनको घरको अवस्था भने कमजोर छ । पतिले कोरिया गएर लामो समय पैसा नपठाएको र अकै विवाह गरेपछि काम गर्ने लक्ष्यले उनी ओमान गएकी थिइन् । श्रम सम्झौता नगरेको, पर्यटक भिसामा गएर घरेलु कामदार बनेकोले राज्यबाट पहल गर्न पनि सकेन । अहिले उनी सहयोगको खोजी गरेर बालबालिका हुर्काउन बाध्य छिन् । 

गैरकानूनी रुपमा विदेश जाने र गैरकानूनी काम गर्नेहरु बढ्दै गएका छन् । गैरकानूनी काम गर्दा अप्ठ्यारोमा परेपछि मात्र उनीहरुले सहयोगको खोजी गर्छन् । सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मीनप्रसाद उपाध्यायका अनुसार गैरकानूनी रुपमा विदेशमा गएर काम गर्न खोज्दा धेरै मानिस अप्ठ्यारोमा परेको बताए । ‘कतिपयले उतै ज्यान गुमाएका छन्, कोही घाइते भएका छन्’ उपाध्यायले भने, ‘प्रक्रिया नभएकोले क्षतिपुर्ति, राहत र बिमा केही नभएकालाई उद्धार गर्न गाह्रो परेको छ ।’ केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष गैरकानूनी रुपमा विदेशमा गएका बागलुङका ७ जना र श्रम स्विकृति नभएका १० गरी १७ जनाको ज्यान गएको थियो ।

चालु वर्ष पनि तीन जनाको ज्यान गइसकेको रिजालले जानकारी दिइन् । तीमध्ये बागलुङ नगरपालिका–६ का एक युवा भने विद्यार्थी हुन् । प्रक्रिया पुगेकाहरुको समयमा शव ल्याएर परिवारलाई राहत र क्षतिपुर्ति दिलाउन सकिए पनि प्रक्रिया नपुगेकालाई राहत र क्षतिपुर्ति दिन नसकेको रिजालले बताइन् । 

विदेश जान गैरकानूनी बाटो रोजेकै कारण गत वर्ष बागलुङका १ सय ३८ जना विदेशमा समस्यामा परेका थिए। चालु वर्ष पनि ३२ वटा समस्याका उजुरी परिसकेका छन् । तीमध्ये १० वटा केन्द्रले समाधान गरिदिएको छ । १७ जना ठगीमा परेका छन् । ३ जनाको मृत्यु भइसकेको छ भने ७ जनाको अन्य समस्या परेको हो । १ जना गम्भीर बिरामी परेपछि केन्द्रले उद्धार गरेको थियो । तर नेपाल फर्केपछि उनको मृत्यु भयो । गैरकानूनी बाटो रोजेकोले उनले उपचार खर्च पनि पाएनन् ।

वैदेशिक रोजगारीमा हरेक वर्ष जिल्लाका धेरै युवा समस्यामा पर्ने गरेका छन् । २०८०/८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीमा मृत्यु भएको तथ्यांक छ । केन्द्रले हरेक वर्ष नयाँ राहदानी बनाउने ८ देखि ९ हजार जनालाई परामर्श गराउँदै आएको छ । 

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully