बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेश स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले विवेक, चेतना र जिम्मेवारीसहित एजेन्डा हेरेर गरिने मतदानले मात्र जनअपेक्षा अनुसारको सुशासन, समृद्धि र स्थायित्वको मार्ग प्रशस्त गर्न सक्ने बताए ।
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमा फैलिने लहलहै र प्रायोजित सामग्रीको क्षणिक प्रभावभन्दा माथि उठेर देशको यथार्थ अवस्थालाई न्याय दिन सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेश स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले विवेक, चेतना र जिम्मेवारीसहित एजेन्डा हेरेर गरिने मतदानले मात्र जनअपेक्षा अनुसारको सुशासन, समृद्धि र स्थायित्वको मार्ग प्रशस्त गर्न सक्ने बताए ।
‘सामाजिक सञ्जालमा फैलाइने लहलहै, होहल्ला, प्रायोजित सामग्रीको क्षणिक प्रभावभन्दा माथि उठेर देशको यथार्थ अवस्था र हाम्रो सामाजिक–आर्थिक धरातललाई न्याय दिन सक्ने नेतृत्व चयन गर्नु आजको प्रमुख आवश्यकता हो,’ उनले भने ।
उनले यस निर्वाचनमार्फत सक्षम, इमान्दार र जनउत्तरदायी नेतृत्व चयन गर्न सके आगामी पाँच वर्षभित्र मुलुकलाई सही दिशामा डोर्याउन सम्भव हुने विश्वास व्यक्त गरे । निर्वाचनले अराजकता होइन शान्ति, अस्थिरता होइन स्थिरता र द्वन्द्व होइन राष्ट्रिय एकता निर्माण गर्ने आधार तयार गर्नुपर्ने उनको धारणा थियो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश संरचना खर्चालु भएको भन्ने आरोप तथ्यहीन भएको बताए । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकलाई उद्धृत गर्दै उनले आर्थिक वर्ष २०८१/८२ मा कुल पारिश्रमिक तथा सुविधा खर्चमा संघतर्फ ५०.४७ प्रतिशत, स्थानीय तहतर्फ ४४.८४ प्रतिशत र प्रदेशतर्फ मात्र ४.६९ प्रतिशत खर्च भएको जानकारी दिए । ‘कुल सार्वजनिक खर्चको पाँच प्रतिशत पनि प्रदेश तहमा खर्च नभएको अवस्थामा प्रदेशका सरकारका, मन्त्री वा सभासदहरूले खाए–सिध्याए भन्ने तथ्यहिन आरोपको कुनै तुक छैन,’ उनले भने ।
प्रदेश सरकारले प्रशासनिक पुनर्संरचना गरी देशमै मितव्ययिताको नयाँ उदाहरण प्रस्तुत गरेको उनले बताए । ३२ वटा कार्यालयलाई मर्ज गरी १९ वटा एकीकृत कार्यालय स्थापना गरिएको र ३ सय ४ भन्दा बढी दरबन्दी कटौती गरी वार्षिक करोडौं रुपैयाँ व्ययभार घटाइएको उनले जानकारी दिए ।
गत भदौमा आएको विपद्पछि पुनर्निर्माणका लागि चालू खर्च १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कटौती गर्ने निर्णयसँगै प्रशासनिक खर्चमा करिब २० प्रतिशत बचत भएको उनले बताए । गण्डकी प्रदेश स्थापनाको आठौं वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री पाण्डेले हालसम्म ८८ कानून, २९ नियमावली र अन्य मापदण्ड जारी भइसकेको बताए । स्वास्थ्य क्षेत्रमा प्रदेश मातहतका १३ अस्पतालको स्तरोन्नति गरी शैया संख्या ३ सयबाट ८ सयसम्म पुर्याइएको उनले सुनाए ।
कोरोला नाका सञ्चालनमा आएपछि गण्डकी प्रदेशले देशको राजस्वमा उल्लेखनीय योगदान पुर्याएको, उपल्लो मुस्ताङमा विदेशी पर्यटकका लागि प्रवेश शुल्क एकमुष्ठ ५ सय डलरबाट घटाएर प्रतिदिन ५० डलर कायम गरिएको उनले उल्लेख गरे ।
पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएकोले गण्डकी प्रदेश र पोखराको अन्तर्राष्ट्रिय पहिचान स्थापित भएको उनले बताए ।
गत २३ र २४ भदौको हिंसात्मक घटनालाई सम्झाउँदै मुख्यमन्त्री पाण्डेले युवाको भावना, प्रश्न र सपनालाई आत्मसात् गर्दै प्रदेश सरकार संवाद र सुधारको यात्रामा प्रतिबद्ध रहेको बताए । ‘नकारात्मक सोचलाई बदल्दै सकारात्मक सोच र आत्मविश्वासका साथ सामूहिक प्रयत्नबाट नै मूलुकमा देखिएका समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ,’ उनले भने ।
नवौं वर्षमा प्रवेश गर्दा विगतका अनुभवबाट सिक्दै, कमजोरी सुधार्दै र उपलब्धिलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने संकल्प उनले व्यक्त गरे । ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को लक्ष्य प्राप्तिको यात्रामा गण्डकी प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने उनको भनाइ थियो ।
