‘सानो प्रयासपछि पारुको नागरिकता र राष्ट्रिय परिचयपत्र बन्यो, उनले भत्ता पाउने भइन्,’ वडाध्यक्ष लक्षुमन गुरुङले भने, ‘नागरिकता र राष्ट्रिय परिचयपत्र बनेपछि मिल्ने सुविधाबारे बुझाएँ, त्यसपछि मुसुक्क हाँस्दा मनै खुसी भयो ।’
लमजुङ — आफन्त र गाउँलेको आश्रयमा बस्दै आएकी क्व्होलासोथार गाउँपालिका–७, कुम्लुङकी पारु भनेर चिनिने ६० वर्षीया सर्किनी कामी सामाजिक सुरक्षा भत्ता पाउने भएपछि खुसी छन् । पहिले बनाएको नागरिकता झुत्रो भएपछि प्रतिलिपि तयार गर्नुका साथै उनको राष्ट्रिय परिचय पत्रसमेत तयार गरिएको छ ।
तर, पारुका लागि यो काम सहज थिएन । दुई दशकअघि बुवाआमा गुमाएकी उनी एक्ली छन् । सहारा नभएकाले कहिले वल्लो गाउँ–पल्लो गाउँ गर्दै दिन कटाइरहेकी छन् । जहाँ बस्न दिन्छन्, त्यहीँ उनको रात कट्छ । राम्रोसँग बोल्न सक्दिनन् । शरीरले साथ दिँदैन, हिँडडुल गर्न गाह्रो छ । मानसिक सन्तुलन सबल छैन । यसअघि गाउँमा आएको घुम्ती टोलीले उनको नागरिकता बनाइदिएको थियो । नागरिकता झुत्रो भएकाले राष्ट्रिय परिचयपत्र बनेको थिएन ।
सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । वान्ता हुने समस्याले गाडी चढ्न नमान्ने उनी गाडीमा यात्रा गर्न मान्दिनन् । पैदल सदरमुकाम बेंसीसहर पुग्न सक्ने अवस्था छैन । यही बीचमा वडाध्यक्ष लक्षुमन गुरुङले ‘एकपटक बेंसीसहर गएर आएपछि केही महिनामै पैसा आउँछ’ भनेर पारुलाई सम्झाए । कार्यपालिका सदस्य पुष्पा सुनारका साथ पारुलाई साल्मे भञ्ज्याङबाट जिप चढाइयो । तर, जिपभित्र बस्न सक्ने अवस्था नभएपछि वडाध्यक्ष गुरुङले उनलाई आफूसँगै जिपको पछाडिको भागमा राखेर बेंसीसहर पुर्याए ।
आवश्यक कागजपत्र जुटाउन जिल्ला प्रशासनमा कार्यरत यही वडाको भोंजे घर भएका नायब सुब्बा तक्मा विकले सहयोग गरे । जनप्रतिनिधिको सनाखतपछि ‘सर्किनी कामी’ नामबाट पारुको नागरिकताको प्रतिलिपि बन्यो । त्यसपछि राष्ट्रिय परिचयपत्र पनि तयार भयो । ‘सानो प्रयासपछि पारुको नागरिकता र राष्ट्रिय परिचयपत्र बन्यो, उनले भत्ता पाउने भइन्,’ वडाध्यक्ष गुरुङले भने । मंगलबार प्राप्त नागरिकताको प्रतिलिपि अनुसार पारुको जन्म ०२२ माघ १० गते रहेको छ । ‘नागरिकता र राष्ट्रिय परिचयपत्र बनेपछि मिल्ने सुविधाबारे बुझाएँ,’ उनले भने, ‘त्यसपछि मुसुक्क हाँस्दा मनै खुसी भयो ।’
गाउँ फर्किंदासमेत पारु जिपभित्र बस्न सकिनन् । आउँदा–जाँदा जिप भाडा १ हजार २ सय रुपैयाँ पर्थ्यो । सवारीधनी गोपी गुरुङले भाडा लिएनन् । वडाध्यक्ष गुरुङ र कार्यपालिका सदस्य सुनारले भने आफ्नो भाडा तिरे । ‘बुवा–आमाको एक्ली छोरी हुन्् । अहिलेसम्म एक्लै बस्दै आइन्,’ वडाध्यक्ष गुरुङ भन्छन्, ‘धेरैजसो टक्सार (क्व्होलासोथार–९) स्थित आफन्तकहाँ बस्छिन् । गाउँतिर आउँदा मेरो घर र छिमेकीकहाँ बस्छिन् ।’ उनका अनुसार नागरिकता र परिचयपत्र बनेसँगै पारुको सामाजिक सुरक्षा भत्ताका लागि कागजात तयार गरिएको छ । भत्ता पाएपछि उनको जीवन अलिक सहज हुने वडाध्यक्ष गुरुङले बताए ।
