कपिलवस्तुमा ६ वर्षसम्म सहकार्यमा प्लाइउड उद्योग सञ्चालनको अनुभव बटुलेर उनले आफ्नै ठाउँमा अक्ला इण्डिष्ट्रिज नामले प्लाइ उद्योग सुरु गरेका हुन् ।
What you should know
पर्वत — पर्वतका शिव अधिकारीले १० करोड रुपैयाँको लगानीमा प्लाइउड उद्योग सञ्चालन गरेका छन् ।
निर्माण व्यवसायी समेत रहेका अधिकारीले कुश्मा नगरपालिका–८ परादीमा १५ वर्षदेखि भेनियर उद्योग सञ्चालन गर्दै आएका थिए । कोर भेनियर (भेनियर पाता) प्लाइउड बनाउने चाहिने कच्चापदार्थ हो । आफ्नै २१ रोपनी जमिनमा उनले प्लाइउड उद्योग विस्तार गरेका हुन् । यो चौबीसै घण्टा सुचारु संचालन हुने गरेको छ। पहाडी जिल्लामै यो पहिलो प्लाइउड उद्योग भएको उनको दाबी छ ।
प्लाइउड व्यवसाय अधिकारीका लागि नौलो चाहिँ थिएन । उनले कपिलवस्तुमा ६ वर्षसम्म सहकार्यमा प्लाइउड उद्योग सञ्चालनको अनुभव बटुलेर आफ्नै ठाउँमा अक्ला इण्डिष्ट्रिज नामले उद्योग सुरु गरेका हुन् । उनले आफ्नो उद्योगमा तीन सय जनालाई प्रत्यक्ष रोजगार दिएका छन् । ‘डेढ सय महिला र पुरुष कामदार अदक्ष जनशक्तिका रूपमा काम गर्छन्,’ उनले भने, ‘बाँकी दक्ष कामदार चाहिँ तराई र भारतका छन् ।’
राज्यले दक्ष कामदार उत्पादनतर्फ ध्यान पुर्याउन नसक्दा बाहिरीबाट कामदार ल्याउन बाध्य भएको अधिकारी बताउँछन् । स्थानीय कामदारलाई दक्षताको तालिम उपलब्ध गराउन सकिएको छैन’, उनले भने, ‘मेसिन चलाउने र बिग्रँदा बनाउन जान्ने सीप सिक्न भारतमै जानुपर्छ, रकम पनि धेरै लाग्छ, यसका लागि राज्यले सहुलियत दिन आवश्यक छ ।’
देशमा देखिएको राजनीतिक अन्योलताले आफू गलत समयमा लगानी त गरिनँ भन्ने चिन्ता लाग्ने गरेको उनी सुनाउँछन् । राज्यले व्यवसायीलाई आवश्यक सुरक्षा दिन नसक्ने स्थिति देखिएको र बैंकहरूले पनि जर्बजस्ती दबाब दिन थालेपछि उद्योगी त्रसित हुनु परेको उनको भनाई छ । ‘देशको अवस्था कहिले के हुने हो, थाहा छैन,’ उनले भने, ‘१० करोड रुपैयाँ आफूसँग हुने कुरा भएन । बैंकबाट ७ करोड ऋण लिएर काम थालनी गरेको हुँ ।’
उनको उद्योगमा ८ एमएमदेखि २० एमएमसम्मका बी र सी ग्रेडका प्लाइउड उत्पादन हुन्छ । हालसम्म परीक्षणकै रूपमा बजारमा पठाउने गरिएको सञ्चालक अधिकारीले बताए । पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पोखरालगायतका सहरमा उनको प्लाइउड खपत हुने गरेको छ । बजारबाट पनि राम्रै प्रतिक्रिया आइरहेको उनले बताए ।
छोरा समिर अधिकारीले उनलाई सघाएका छन् । कन्स्ट्रक्सन इन्जिनियर रहेका समिरले विदेश जाने सपना त्यागेर बुवाले स्थापन गरेको उद्योगमा दिनरात खटिएका छन् । ‘बुवाले जिन्दगी भरिको मिहिनेतको कमाई लगाउनुभएको छ’, उनले भने, ‘हाम्रै उद्योगमा उत्पादित प्लाइउडलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य बोकेर जोडिएको छु । आशा छ, एक दिन सफल हुन्छु ।’
प्लाइउडका लागि आवश्यक कच्चापदार्थका रूपमा चाहिने रुख पनि व्यावसायिक तरिकाले खेती गर्नुपर्ने सञ्चालक अधिकारीले बताए । गाउँघरका खाली पाखामा तरकारी तथा फलफूल खेती गरेजस्तै सिमल, सिसौ, जामुन, उतिसजस्ता रुखको हाइब्रिड खेती गरेर आम्दानी लिन सक्ने उनी बताउँछन् । ‘गाउँमै मिहनेत गर्ने हो भने मसँग आउनुस्,’ उनले भने, ‘लगानी म दिन्छु, तपाईले उत्पादन गरेका रुखको राम्रो मूल्य तिरेर किन्छु ।’
