निर्वाचन लक्षित गरेर गोरखामा नेपाली सेना परिचालन

नेपाली सेनाको रुद्रध्वज गणले गोरखाको निर्वाचनलाई मध्यनजर गर्दै यहाँको अजिरकोटस्थित भच्चेक, आरुघाट र नाम्जाली डाँडामा बेस स्थापना गरेको छ ।

माघ २१, २०८२

हरिराम उप्रेती

Nepali Army mobilized in Gorkha targeting elections

गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर गोरखाका तीन ठाउँमा नेपाली सेनाले बेस स्थापना गरेको छ ।

नेपाली सेनाको रुद्रध्वज गणले अजिरकोटस्थित भच्चेक, आरुघाट र नाम्जाली डाँडामा बेस स्थापना गरेको हो । बुधबारबाट सेना परिचालन गर्ने सरकारको निर्णय अनुसार नै गोरखामा पनि वेस स्थापना भएको नेपाली सेनाको रुद्रध्वज गणले जनाएको छ ।

निर्वाचनका बेला नेपाली सेना बाहिरी सुरक्षा घेरमा रहन्छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै तीन ठाउँमा वेस स्थापना गरेर नेपाली सेना पनि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए । 

निर्वाचन लक्षित गरेर आवश्यकता अनुसार चारवटै सुरक्षा निकाय परिचालन गरिने उनले बताए । ‘आजबाट गस्ती लगायतका सुरक्षासँग सम्बन्धित गतिबिधि सम्बन्धित वेसबाट सुरु भएको छ,’ उनले भने । निर्वाचनमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, निर्वाचन प्रहरीलाई आवश्यकताअनुसार परिचालन गरिने उनले बताए ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully