बागलुङमा १ सय १५ अवैध बन्दुक बरामद

प्रहरीले चलाएको अपरेसन अभियानका क्रममा पछिल्लो ४० दिनमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको हो ।

माघ २१, २०८२

प्रकाश बराल

115 illegal guns seized in Baglung

What you should know

बागलुङ — जिल्ला प्रहरी कार्यालय बागलुङले १ सय १५ थान अवैध हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार बरामद भएका अधिकांश हतियार भरुवा बन्दुक हुन् ।

अवैध हतियार बरामद गर्ने लक्ष्यले प्रहरीले चलाएको अपरेसन अभियानका क्रममा पछिल्लो ४० दिनमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको हो । 

ती हतियार बरामद गर्दा प्रहरीले अभियुक्त भने कोही पक्राउ गरेको छैन । ‘हामीले सर्च र अपरेसन अभियान थालेपछि सबै हतियार जंगल छेउछाउ, खोंचहरूमा भेटायौं,’ भारतीले भने, ‘अभियुक्त भेट्टाउन सकिएको छैन ।’ अधिकांश घरेलु रूपमा बनाइएका हतियार भए पनि सबैजसो नियमित प्रयोगमा आएको हतियार भएको उनले बताए । बन्दुक बरामद गर्दा त्यसको म्यागेजिन लगायतका खरखजाना भने बरामद भएको छैन ।

बरामद भएका हतियारलाई प्रहरीले सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालयमा राखेको छ भने हरेक हतियार प्रयोगकर्ता पक्राउ पर्न सक्ने भएकाले अनुसन्धानको पाटो पनि अगाडि बढाएको छ । निर्वाचन नजिक आइरहेका बेला प्रहरीले वैध हतियारसमेत प्रहरीमा बुझाउन सूचना प्रकाशित गरेको छ । उक्त सूचना अनुसार अहिलेसम्म १९ थान बन्दुक सम्बन्धित लाइसेन्सवालाले प्रहरीमा बुझाएका छन् । सो अभियानकै क्रममा अवैध हतियार पनि भेटिएको हो । 

प्रहरीले अझै धेरै अवैध हतियार भेटिन सक्ने आशंकामा खोजी अभियान जारी राखेको छ । ‘शंकास्पद क्षेत्र र मानिसको तलासी लिने काम पनि भैरहेको छ,’ इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक तिलक मानन्धरले भने, ‘निर्वाचन सुरक्षाका लागि पनि यो अभियान निरन्तर रहनेछ ।’ आसन्न निर्वाचनमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पूरा गर्न पनि यो अभियानलाई निरन्तरता दिने उनले बताए । 

म्यादी प्रहरी अपुग

जिल्ला प्रहरी कार्यालय बागलुङले खुलाएको म्यादी प्रहरीमा आवस्यक संख्या नपुगेको प्रहरी उपरिक्षक भारतीले बताए । जिल्लामा १ हजार २ सय ९८ जना म्यादी प्रहरी र १ सय ७९ जना म्यादी सशस्त्र भर्ना गर्न लागेकामा अझै ६३ जना अपुग भएको हो । 

तालिम र नियुक्ति लिने समयमा पनि कतिपयले छाड्ने गरेकाले थप संख्या आवश्यक पर्ने भएकाले छिमेकी पर्वत, म्याग्दी र गोरखाबाट समेत केही म्यादी झिकाएको हो । 

आसन्न निर्वाचनमा बागलुङमा २९ वटा मतदान केन्द्र अति संवेदनशील, २५ वटा केन्द्र संवेदनशील रहेकाले सुरक्षाका लागि सचेत भएको समेत भारतीले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully