लमजुङमा हातहतियार बुझाउन अटेरी

जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा साढे ४ सय बढी हातहतियार नवीकरण भएका छन् ।

माघ २०, २०८२

आश गुरुङ

Reluctance to surrender weapons in Lamjung

What you should know

लमजुङ — फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले माघ २० सम्म आफूसँग भएका हतियार बुझाउन भने पनि धनीहरुले आफ्ना हातहतियार बुझाउन अटेरी गरेका छन् ।

जिल्ला सुरक्षा समितिको माघ ६ गतेको निर्णय अनुसार १५ दिनको म्याद राखेर हातहतियार आफ्नानजिकका प्रहरी कार्यालय वा चौकीमा बुझाउन भनिएको थियो ।

चुनाव सकिएपछि चैत २० गतेपछि ती हतियार फिर्ता गर्ने भनिएको थियो । सूचना जारी भएको १५ दिनभित्र ७८ थानमात्रै हातहतियार प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा साढे ४ सय बढी हातहतियार नवीकरण भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार जिल्ला प्रहरी कार्यालयमा १७ थान, इलाका प्रहरी कार्यालय भोर्लेटारमा १३, भोटेओडारमा ८, सुन्दरबजारमा ५, प्रहरी चौकी कुन्छामा ९, चितीमा ५, बाहुनडाँडा, दुराडाँडा, गौंडा साथै अस्थायी प्रहरी पोष्ट धमिलिकुवा र गाउँसहरमा २/२ थान, अस्थायी प्रहरी पोष्ट जगतमा १० र मालिङमा एउटा हातहतियार प्राप्त भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा अनुमति लिएर १ हजार ५ सय २७ जनाले विभिन्न समयमा हातहतियार लिएका छन् । यसमा एकनाले बन्दुकमात्रै ८ सय ७१ वटा छन् । बृज लोडिङमात्रै २ सय ३४ वटा रहेको पछिल्लो तथ्या‌ंकले देखाउँछ ।

गत आर्थिक वर्षमात्रै प्रहरीले १ सय १२ वटा अबैध हातहतियार संकलन गरेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा जम्मा १ सय ४३ थान हातहतियार नवीकरण भएका थिए । आव २०८०/०८१ मा ३ सय हातहतियार नवीकरण भएका थिए । चालु आर्थिक वर्षमा २१ वटामात्र हातहतियार नवीकरण भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार हातहतियारको नवीकरण प्रत्येक ५/५ वर्षमा गर्नुपर्छ । लमजुङमा नवीकरण गर्नुपर्ने समयमा समेत हातहतियार नवीकरण गरेको पाइँदैन । नवीकरण गर्नुपर्ने समयमा हातहतियार नवीकरण नगरिए त्यो अबैध हतियार हुन्छ । ‘हामीले निर्वाचनलाई लक्षित गरेर आफूसंग भएका हतियार बुझाउन सूचना जारी गरेका थियौं । कमैमात्रामा हातहतियार बुझाएको पाइएको छ’ उनले भने, ‘फेरि ताकेता गर्नुपर्नेछ ।’ उनले कतिपय हातहतियार कागजमा मात्रै रहेको र यसअघिका द्वन्द्वमा लुटिएको हुन सक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतले कमैमात्र हातहतियार प्राप्त भएको बताए । सूचनामा माघ २० गतेसम्म भनिए पनि चुनाव अगाडि जहिलेसम्म पनि आफूसँग भएको हातहतियार बुझाउन पाइन्छ ।  

प्रशासनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन हतियार बुझाउन आग्रह गरेको थियो । आफूसँग भएको इजाजत प्राप्त हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully