दर्जन कार्यालय अगाडिको लथालिङ सडकलाई उम्मेदवारको पनि बेवास्ता

गरेका–नगरेका कामको सूची बोकेर चुनाव प्रचारमा रहेका दलहरूले जिल्लाको मुख्य स्थानमा रहेको सडककाे लथालिङ अवस्था भने देख्न नसकेको स्थानीयको गुनासो छ ।

माघ १५, २०८२

सुमनजंग थापा

Even candidates ignore Lathaling Road, which is located in front of a dozen offices.

What you should know

पर्वत — कुश्मा बजारको बडगाउँ क्षेत्रमा एकै स्थानमा दर्जनभन्दा बढी सरकारी कार्यालय छन् । तर ती कार्यालयअघिको सडक भने वर्षौंदेखि लथालिङ अवस्थामा छ ।

भौतिक विकासको जिम्मेवारी बोकेको पूर्वाधार विकास कार्यालय यहीँ रहे पनि उक्त सडकलाई कहिल्यै प्राथमिकतामा राखिएको छैन।

सडकको दयनीय अवस्थाका कारण अति संवेदनशील मानिने प्रदेश अस्पताल पर्वतसमेत प्रभावित बनेको छ । ‘दैनिक तीनदेखि चार सय सेवाग्राही अस्पताल आउनुहुन्छ । जीर्ण सडकले गर्भवती, बृद्ध, अपांगता भएका व्यक्ति र बालबालिकालाई निकै कठिन हुन्छ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियारले भने, ‘सडकबाट उड्ने धुलो सिधै अस्पतालमा प्रवेश गर्दा बिरामीको स्वास्थ्यमा प्रतिकूल असर परेको छ ।’

सडक पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र सघन सहरी कार्यालयलाई पटक–पटक अनुरोध गरिएको परियारले बताए । यसअघिका अस्पताल अध्यक्ष शंकर गिरीले पनि आफ्नो तीन वर्षे कार्यकालमा सम्बन्धित कार्यालय धाएर अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो गरे । ‘पूर्वाधार विकासजस्तो कार्यालय आफै यहीँ छ, तर दर्जन सरकारी कार्यालयअघिको सडकको अवस्था यस्तो हुनु सिंगो कुश्मा बजारकै लागि लज्जास्पद विषय हो,’ उनले भने ।

यतिबेला उम्मेदवारहरू जिल्लामा भएका विकास निर्माणका काम आफूले सम्पन्न गरेको दाबी गर्दै चुनावी प्रचारमा व्यस्त छन् । गाउँसम्म सडक र घरघरमा खानेपानी पुर्‍याएको जस्ता उपलब्धिको जस लिन उनीहरू दौडिरहेका छन् । तर गरेका–नगरेका कामको सूची बोकेर चुनावमा होमिएका दलका उम्मेदवारहरूले आफ्नै नाकैमुनिको लथालिङ सडक भने देख्न नसकेको स्थानीयको गुनासो छ । प्रदेश अस्पताल पर्वतदेखि सशस्त्र प्रहरी बलको कार्यालयसम्म करिब पाँच सय मिटर मात्रै सडक हो ।

भत्किएको यही सडक छेउमा रहेको जिल्ला अदालत परिसरभित्र अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । माघ ६ गते उम्मेदवारी दर्ताका लागि एमाले, कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवारहरू यही भत्किएको सडक हुँदै कार्यालय पुगेका थिए ।

त्यतिमात्र होइन, लथालिङ सडकको बीचमै कार्यकर्ता जम्मा पारेर एमालेका पदम गिरी, कांग्रेसका अर्जुनप्रसाद जोशी, नेकपाका मनहरि तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाललगायत उम्मेदवारहरूले धाराप्रवाह भाषणसमेत गरे । तर उनीहरूमध्ये कसैले पनि सडक पुनर्निर्माणको विषय उठाएनन् । कार्यकर्ताले ताली बजाएर हौसला थपिरहे, तर बाटोको कुरा कसैले उप्काएनन् । ‘अस्पतालदेखि सुरु भएर लस्करै दर्जन सरकारी कार्यालय छन् । नाली पुरिँदा बर्खामा सडकमै पानी जम्छ,’ कुश्माका हरि भुसालले भने, ‘सरकारी निकायले बेवास्ता गरे पनि जनप्रतिनिधिले जिम्मेवारी बोक्न सक्नुपर्थ्यो ।’ सडक प्रभावित क्षेत्रमा प्रत्यक्ष मतदाता कम भएकाले उम्मेदवारहरूले चुनावी नारा नबनाएको उनको बुझाइ छ ।

प्रदेश अस्पताल पर्वत र पूर्वाधार विकास कार्यालयसँगै रेडक्रस, सशस्त्र प्रहरी बल, सीप विकास, अनुसन्धान आयोग, जिल्ला अदालत, हुलाक, कृषि ज्ञान केन्द्र, खानेपानी, शिक्षा, नापी, मालपोत, सरकारी वकिल कार्यालय, पशु विज्ञ केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल पत्रकार महासंघलगायत कार्यालय यही क्षेत्रमा छन् । ‘पत्रकारहरूले समाचारमार्फत सडक मर्मतको माग उठाउँदै आएका छन्,’ महासंघ पर्वतकी उपाध्यक्ष संगीता केसीले भनिन्, ‘तर चुनावी नारामा समेत सडकको विषय नसमेटिनु दलहरूको बेवास्ता हो ।’

सडकको नाली पुरिँदा बर्खायाममा बग्ने ढल बडगाउँ खेलमैदानतर्फ जाने गरेको छ । सरकारी कार्यालयहरूले आफ्नो परिसर जोगाउने नाममा ढल खेलमैदानतर्फ फर्काउने गरेका छन् । ‘सबै समस्याको जरो भनेकै सडक नबन्नु हो,’ बडगाउँका स्थानीय अनिश श्रेष्ठले भने, ‘नाली पुरिएका छन्, सामान्य वर्षा हुँदा पनि सडक हिलाम्मे हुन्छ । सडक पुनर्निर्माण भए सबै समस्या समाधान हुन्छ ।’

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully