मर्स्याङ्दीको शिविरमा १३५ जनाको मोतिबिन्दु शल्यक्रिया

पहिलो दिन सोमबार ४० जना, दोस्रो दिन मंगलबार ६५ जना र तेस्रो दिन बुधबार ३० जनाको मोतिबिन्दु शल्यक्रिया गरिएको थियो ।

माघ १५, २०८२

आश गुरुङ

135 people undergo cataract surgery at Marsyangdi camp

What you should know

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा सञ्चालन गरिएको तीनदिने निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरबाट १३५ जनाले सफलतापूर्वक शल्यक्रिया सेवा पाएका छन् ।

गाउँपालिकाका अनुसार शिविरमा ४२९ पुरुष र ६८६ महिला गरी कुल १ हजार १ सय १५ जनाको आँखा जाँच गरिएको थियो । जाँच गरिएकामध्ये ५३ पुरुष र ८२ महिलामा मोतिबिन्दु पुष्टि भएपछि शल्यक्रिया गरिएको हो ।

शिविर अवधिभर ६ सय ६१ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ । ५६ जनालाई नजिक हेर्ने चश्मा उपलब्ध गराइएको छ । शल्यक्रिया गरिएका सबै बिरामीलाई आँखाको सुरक्षाका लागि कालो चश्मा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

पहिलो दिन सोमबार ४० जना, दोस्रो दिन मंगलबार ६५ जना र तेस्रो दिन बुधबार ३० जनाको मोतिबिन्दु शल्यक्रिया गरिएको थियो । बुधबार शल्यक्रिया गरिएका विरामीको आँखामा राखिएका पट्टी बिहीबार बिहान खोलिएको छ ।

135 people undergo cataract surgery at Marsyangdi campगाउँपालिकाले नेपाल नेत्रहीन संघ लमजुङ (समावेशी विकासका लागि कार्य) र नेपाल नेत्रज्योति संघअन्तर्गत भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।

अस्पतालका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा आएको चिकित्सक टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो । शिविरमा नेपाल नेत्रहीन संघका पुनर्स्थापन अधिकृत प्रेम महर्जन, लमजुङ नेत्रहीन संघका सदस्य गोपाल लामिछाने, भरतपुर आाखा अस्पतालका बाहृय कार्यक्रम संयोजक रमेश घिमिरेलगायतले समेत सेवा दिएका थिए ।

135 people undergo cataract surgery at Marsyangdi campगाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आर्थिक रुपमा कमजोर तथा काठमाडौं, पोखरा वा चितवन पुगेर उपचार गर्न नसक्ने नागरिकले आफ्नै घरआँगनमा शल्यक्रिया सेवा पाएको बताए । ‘दृष्टि गुमाउने अवस्थामा पुगेका नागरिकलाई समयमै उपचार उपलब्ध गराउन पाउँदा गाउापालिका खुसी छ, नागरिक पनि खुसी छन्,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले शल्यक्रिया गरिएका सबै बिरामीको खाना, बसोबास र गाउँ–गाउँसम्म पुर्‍याउने व्यवस्थापन गाउँपालिकाले गरेको जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully