१० वर्ष कुर्नुपर्‍यो आमाको नामबाट नागरिकता पाउन

उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण उनीहरुले पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जान वञ्चित भएका थिए ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Had to wait 10 years to get citizenship in mother's name

What you should know

म्याग्दी — बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समिरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए ।

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि उनीहरुलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।

समिर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने उनका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुन् । ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृंगार व्यवसाय गर्दै आएकी छन् । श्रीमान् सलिमले भारतको नागरिकता त्यागिसकेका छन् । उनले २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताए ।

समिर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको उनीहरुले बताए ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully