अधिकांश नयाँ अनुहार, लेखकदेखि वैज्ञानिकसम्म उम्मेदवार ।
पोखरा — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका तीन निर्वाचन क्षेत्रमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयको तथ्यांकअनुसार १८ राजनीतिक दल र ६ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
तर, कुल ४९ उम्मेदवारमध्ये महिला भने ५ जना मात्रै छन्, जुन करिब १० प्रतिशत मात्र हो । बाँकी ४४ जना पुरुष उम्मेदवार छन् । ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसपल्ट कास्कीमा अधिकांश नयाँ अनुहारले उम्मेदवारी दिएका छन् । कास्की क्षेत्र नम्बर १ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार रामघाटस्थित निर्वाचन अधिकृतको कार्यालयमा मुख्य दलका नेता र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र पेस गरेका हुन् । यस क्षेत्रमा १६ राजनीतिक दल र १ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
मुख्य दलहरूमध्ये नेपाली कांग्रेसका केन्द्रीय सदस्य तिलकबहादुर रानाभाट, एमालेका कास्की अध्यक्ष बैनबहादुर क्षेत्री (अधिकारी) र नेपाली कम्युनिस्ट पार्टीबाट केन्द्रीय सदस्य राजकाजी गुरुङ मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट लेखक खडकराज पौडेल (गनेस) ले उम्मेदवारी दिएका छन् । उनी रास्वपाका केन्द्रीय सदस्य हुन् । राप्रपाबाट बाबुराम थापा उम्मेदवार छन् । यीमध्ये गुरुङ यसअघि ०६४ मा कास्कीबाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै, उज्यालो नेपाल पार्टीबाट खगोल वैज्ञानिक मनीषा द्वा, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, नेकपा (माओवादी)बाट कुमार परियारले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीबाट रामकाजी चर्माकार र आम जनता पार्टीबाट हर्कबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । मंगोल नेसनल अर्गनाइजेसनबाट श्रीमान थापा, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर दर्जी र नेसनल रिपब्लिक नेपालबाट यज्ञबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।
अन्य साना दलमध्ये नेपाल मानवताबादी पार्टीबाट आशबहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विलबहादुर तामाङ लामाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा कृष्ण बहादुर राउत छन् ।
कास्की क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । मुख्य दलमध्ये नेपाली कांग्रेसबाट माधवप्रसाद बास्तोला र एमालेबाट केन्द्रीय सदस्य रश्मि आचार्य उम्मेदवार छन् । नेकपाबाट हेमबहादुर थापा पराजुली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन् । राप्रपाबाट हेमजंग गुरुङ मैदानमा छन् ।
अन्य दलमध्ये नेकपा (माओवादी) बाट प्रेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट विनीता अबाल, उज्यालो नेपाल पार्टीबाट उर्जा विज्ञ कुशल गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनबाट ओमबहादुर गुरुङ र नेसनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ उम्मेदवार छन् ।
त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारीले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारमा विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, निरन्जन कोइराला, २६ वर्षीय निर्दोष विक्रम पौडेल र वसन्तराज घिमिरे छन् ।
कास्की क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मालेपाटनस्थित निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन पत्र पेस गरेका हुन् ।
नेपाली कांग्रेसबाट मनोज गुरुङ र एमालेबाट दामोदर पौडेल बैरागीले उम्मेदवारी दिएका छन् । पौडेल यसअघि ०७९ मा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विना गुरुङ र नेकपाबाट गोपाल गिरी उम्मेदवार बनेका छन् । राप्रपाबाट अर्जुनप्रसाद खनाल मैदानमा छन् ।
अन्य दलमध्ये नेकपा (माओवादी) बाट कमल खड्का विश्वकर्मा, नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की र उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, नेसनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट मिना न्हिसुतु र श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङले मनोनयन पेस गरेका छन् ।
निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । मनोनयन दर्ताका क्रममा उम्मेदवारहरू समर्थकको जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
सबै उम्मेदवारले आ–आफ्नो एजेन्डासहित चुनावी अभियान सुरु गर्ने बताएका छन् । तीनवटै क्षेत्रमा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि तीनवटै क्षेत्र एमालेले जितेको थियो । ०७९ मा १ मा मानबहादुर गुरुङ, २ मा विद्या भट्टराई र ३ मा दामोदर पौडेल बैरागीले चुनाव जितेका थिए ।
कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता छन् । त्यसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख १६ हजार ८ सय ७८, २ मा ८४ हजार १ सय ३४ र ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता छन् । ०७९ मा २ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेकोमा हाल १७ हजार ४ नयाँ मतदाता थप भएका हुन् ।
