गोरखाबाट भारतको गोरखपुर ‘खिचडी’ यात्रा सुरु

गोरखाबाट पुगेको खिचडी भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा अर्पण गरेपछि माघ १ गतेबाट गोरखपुरमा ‘खिचडी जात्रा’ प्रारम्भ हुने प्रचलन छ ।

पुस २९, २०८२

हरिराम उप्रेती

'Khichdi' journey from Gorkha to Gorakhpur, India begins

What you should know

गोरखा — गोरखाको गोरखनाथ मन्दिरबाट भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरसम्मको खिचडी यात्रा मंगलबार सुरु भएको छ।

१४ प्रकारका खाद्य वस्तु समावेश भएको खाद्य सामग्रीसहित खिचडी यात्रा सुरु गरिएको हो।

यात्राको पहिलो दिन गोरखा सदरमुकामस्थित ठूलोगागनमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण पश्चात हरमटारी चोकसम्म पैदल याक्रा गरिएको थियो। दुई दशकदेखि रोकिएको खिचडी यात्रा गौ संरक्षण संघको सक्रियतामा सुरु गरिएको हो। दुई वर्षदेखि सुरु गरिएको यात्रालाई निरन्तरता दिँदै ब्यवस्थित गर्दै लगिएको राष्ट्रिय गौ संरक्षण संघका अध्यक्ष होम सिं बस्नेतले बताए ।

यस वर्ष गुरु गोरक्षनाथ फाउन्डेसन, राष्ट्रिय गौ संरक्षण संघको संयुक्त आयोजनामा गोरखा नगरपालिकाको सहकार्य तथा सहयोग तथा गोरखा दरबार हेरचाह अड्डाको समन्वय तथा व्यवस्थापनमा संचालन गर्न लागिएको पनि उनले बताए।

पुस २९ गते गोरखाबाट सुरु हुने यात्रा माघ १ गते गोरखपुर पुगेर टुंगिने छ। गोरखपुरस्थित गोरखनाथको मन्दिरमा विशेष पूजा तथा गोरखाबाट गएको खिचडी चढाएको पछि ‘खिचडी जात्रा’को प्रारभ्भ हुने प्रचलन छ । खिचडी यात्राले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन पनि भूमिका खेल्ने गुरु गोरक्षनाथ फाउन्डेसनका अध्यक्ष शुभेन्दु गुप्ताले बताए । 

राजतन्त्र हुँदासम्म राजदरबारबाट पठाउने खिचडी गत वर्षबाट गोरखा दरबारस्थित गोरखनाथ मन्दिरबाट पठाउन थालिएको हो । गोरखपुरमा हरेक वर्ष माघ १ गतेबाट सुरु हुने खिचडी धार्मिक जात्रा प्रारम्भअघि नेपालबाट पुगेको खिचडी चढाउने निकै पुरानो प्रचलन रहेको गौ संरक्षण संघका अध्यक्ष बस्नेतले बताए। 

गोरखाको गोरखनाथबाट गोरखपुरको गोरखनाथ खिचडी पठाउने परम्परा झण्डै पााच सय वर्ष अघिबाट सुरु भएको पाइएको बस्नेतले बताए । पहिले गोरखाबाट पठाउने खिचडी राजधानी काठमाडौं सरेसँगै राजदरबारबाट पठाउने प्रचलन थियो । गणतन्त्र स्थापनापछि भने रोकिएको परम्पराको दुई वर्षअघिबाट गोरखा–गोरखपुर खिचडीसहितको धार्मिक यात्रा सुरु भएको हो। मकर संक्रान्तिका दिन बिहानै गोरखाबाट पुगेको खिचडी चढाएपछि गोरखपुरमा प्रसादको रुपमा बाड्ने प्रचलन रहेको छ। चामल, दाल, घ्यू, पिडालु, महल नुन, वेसार, तोरीको काचो तेल, गोरखनाथको प्रसाद, विभूतिसहितका १४ सामग्री लिएर गोरखाबाट यात्रा सुरु गरिएको हो । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully