तनहुँमा मृत भेटिएका तीनमध्ये दुई जनाको सनाखत

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४१ वर्षीय नारायण विक शनिबार र भीमाद नगरपालिका–८ भागर बस्ने ५८ वर्षीया देउमाया थापाको आइतबार सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

पुस २८, २०८२

सम्झना रसाइली

Two of the three people found dead in Tanahun identified

What you should know

तनहुँ — गत शनिबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक मृत अवस्थामा भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत भएको तनहुँ प्रहरीले जनाएको छ ।

मृत अवस्थामा भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत गरी शव परीक्षणपश्चात् आफन्तले शव बुझेको र एक जनाको अझै सनाखन हुन नसकेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४१ वर्षीय नारायण विक शनिबार र भीमाद नगरपालिका–८ भागर बस्ने ५८ वर्षीया देउमाया थापाको आइतबार सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । तीन जनाको नै हत्या भएको प्रहरीको आशंका छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा शनिबार वीभत्स रुपमा हत्या गरिएको अवस्थामा तीन शव भेटिएका थिए । शुक्लागण्डकी–५ स्थित कसेरीमा दुई पुरुष र करिब सात सय मिटरको दूरीमा एक महिलाको शव भेटिएको थियो । उक्त घटनामा फोहोरमैला प्रशोधन केन्द्रमा गार्डका रुपमा काम गर्दै आएका नारायण विकको शनिबारै सनाखत भएको थियो । 

यस्तै, महिलाको शवको आइतबार सनाखत भएको ती महिलासँगै बस्दै आएको भनिएका एक पुरुषको भने सनाखत हुन नसकेको प्रहरी जनाएको छ । उनीहरू श्रीमान् श्रीमती रहेको र प्रशोधन केन्द्र बाहिर टहरा बनाई सँगै बस्दै आएको बताइएको छ ।

ती महिला र पुरुषले शुक्लागण्डकी नगरपालिकाको बजार क्षेत्रबाट संकलन गरिएको फोहोरमैलाबाट कवाडी संकलन गर्ने गरेको स्थानीयले बताएका छन् । 

यस्तै, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार घटनाको प्रकृति शंकास्पद भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीसहितको प्राविधिक टोली र तालिम प्राप्त कुकुरसहितको टोलीले स्थलगत अध्ययन अनुसन्धान अगाडि बढाएको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully