तनहुँमा वीभत्स हत्या गरिएका तीन शव भेटिए

मृत फेला परेका तीन जनाको शव वीभत्स रहेको घटनास्थल पुगेका स्थानीयले बताए । पुरुषको शवको पेटमा गम्भीर चोट लागेको अवस्थामा र महिलाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

पुस २६, २०८२

सम्झना रसाइली

Three brutally murdered bodies found in Tanahun

What you should know

तनहुँ — जिल्लाको शुक्लागण्डकी नगरपालिकामा वीभत्स रुपमा हत्या गरिएका तीन शव फेला परेका छन् । शनिबार ती शव फेला परेका हुन् ।

शुक्लागण्डकी–५ स्थित कसेरीमा दुई पुरुष र एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रको कम्पाउन्डबाहिर दुई जना पुरुष र सो घटनास्थलको केही पर एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी गराए । 

उक्त घटनामा एक पुरुषको शव शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप राइपुरका अन्दाजी ३९ वर्षीय नारायण विकको रहेको र उनी उक्त केन्द्रमा गार्डका रूपमा कम गर्दै आएको बताइएको छ ।

यस्तै, एक पुरुष र महिलाको शवको भने पहिचान खुल्न सकेको छैन । उनीहरु श्रीमान् श्रीमती रहेको र प्रशोधन केन्द्र बाहिर टहरा बनाई सँगै बस्दै आएको बताइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । 

ती महिला पुरुषले शुक्लागण्डकी नगरपालिकाको बजार क्षेत्रबाट संकलन गरिएको फोहोरमैलाबाट कवाडी संकलन गर्ने गरेको स्थानीयले बताएका छन् ।

मृत फेला परेका तीन जनाको शव वीभत्स रहेको घटनास्थल पुगेका स्थानीयले बताए । पुरुषको शवको पेटमा गम्भीर चोट लागेको अवस्थामा र महिलाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

यस्तै, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार घटनाको प्रकृति शंकास्पद भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक कार्कीसहितको टोली घटनास्थलमै खटिएर सबै कोणबाट अनुसन्धान गरिरहेको छ ।

गण्डकी प्रदेशको प्राविधिक टोली र तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनले बताए । तीनै जनाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल दमौली ल्याइएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully