गाउँघरमा उत्पादन भएको तरुल बिक्रीका लागि सदरमुकामस्थित कृषि उपज थोक बजारमा ल्याउने र त्यहीँबाट देशका विभिन्न भागमा तरुल पठाउने काम भइरहेको तरुल व्यवसायी लालबहादुर सारुले बताए ।
नवलपुर — माघी तथा माघे संक्रान्तिका लागि पूर्वी नवलपरासीबाट काठमाडौं, पोखरा, चितवन, बुटवल लगायतका ठूला बजारमा तरुल पठाउन सुरु गरिएको छ ।
जिल्लाको उत्तरी भेगका किसानले व्यावसायिक रूपमा तरुल खेती गर्ने र माघ महिनामा यसको माग उच्च हुने भएकाले व्यवसायी तरुल खरिदका लागि नवलपुर आएका छन् ।
गाउँघरमा उत्पादन भएको तरुल बिक्रीका लागि सदरमुकामस्थित कृषि उपज थोक बजारमा ल्याउने र त्यहीँबाट देशका विभिन्न भागमा तरुल पठाउने काम भइरहेको तरुल व्यवसायी लालबहादुर सारुले बताए ।
किसानले गाउँमा नै हात्तीपाइले तरुल प्रतिकिलो ६० देखि ७० रुपैयाँ प्रतिकिलो र वन तरुल प्रतिकिलो १ सय ३० देखि १ सय ५० रुपैयाँ किलोमा बिक्री भैरहेको छ ।
भिरालो र खाली रहेको जग्गा तरुल खेती हुने भएकाले पहाडी भेगमा यसको उत्पादन बढ्दो छ । केही वर्षअगाडिसम्म घर खानका लागि मात्र दुई चार बिरुवा लगाउने किसानले अहिले यसैलाई व्यावसायिक रूपमा अगाडि बढाएका छन् ।
जिल्लाको हुप्सेकोट, बौदीकाली र बुलिङटार गाउँपालिकामा व्यावसायिक तरुल खेती हुने गरेको छ । अघिल्लो वर्ष ५३ मेट्रिक टन तरुल उत्पादन भएको थियो । जिल्लामा एक किसानले २६ किलोसम्मको एउटै तरुल फलाएका छन् ।
