छैटौं म्यादमा दोर्दी जोड्ने सडक कालोपत्र सकियो

पूर्वाधार विकास कार्यालयसँग २०७७ असार ३० गते कन्टेक प्रालि काठमाडौंले २ वर्षभित्र सडक कालोपत्र र ढलान सम्पन्न गर्ने गरी २६ करोड २८ लाख १५ हजार रुपैयाँमा सम्झौता गरेको थियो।

पुस २५, २०८२

आश गुरुङ

The road connecting Dordi was blacktopped in the sixth term.

What you should know

लमजुङ — लमजुङको दोर्दी गाउँपालिका केन्द्र नौथर शेरालाई जोड्ने उदिपुर–रिट्ठेबगर–दोर्दी सडकको अन्ततः कालोपत्र सकिएको छ।

पटक–पटक म्याद थपिँदै आएको उक्त सडक निर्माणमा करिब साढे ५ वर्ष लागेको हो । यसका लागि छैटौं पटक म्याद थप भएको छ।

डुम्रे–बेंसीसहर सडकअन्तर्गत बेंसीसहर नगरपालिका–१ उदिपुरदेखि नौथर शेरासम्म ७ दशमलव १ किलोमिटर सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ। सडकको अधिकांश खण्ड बेँसीसहर नगरपालिका–११ रामचोक बेंसी क्षेत्रमा पर्छ।

२०६६/०६७ तिर ट्रयाक खोलिएको यो सडक गण्डकी प्रदेश सरकारको ‘एक पालिका–एक सडक’ अवधारणाअनुसार तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७७ मंसिर २३ गते शिलान्यास गरेका थिए ।

पूर्वाधार विकास कार्यालयसँग २०७७ असार ३० गते कन्टेक प्रालि काठमाडौंले २ वर्षभित्र सडक कालोपत्र र ढलान सम्पन्न गर्ने गरी २६ करोड २८ लाख १५ हजार रुपैयाँमा सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७९ असार २ गतेभित्र काम सकिनुपर्ने थियो। तर, तोकिएको समयमा काम नसकिएपछि पटक–पटक म्याद थप गरिएको थियो।

पहिलो पटक २०७९ पुस २४ गतेसम्म म्याद थप गरिएको थियो । दोस्रो पटक २०८० असार २९ गते, तेस्रो पटक २०८० मंसिर २८ गते, चौथो पटक २०८१ वैशाख ३१ गते र पाँचौं पटक २०८१ मंसिर २८ गतेसम्म म्याद थप गरिएको थियो। पछिल्लो समय सार्वजनिक खरिद ऐनको चौधौं संशोधनअनुसार छैटौं पटक २०८२ मंसिर मसान्तसम्म म्याद थप गरिएको थियो । यही म्याद आसपास सडकको कालोपत्र कार्य सकिएको कार्यालयले जनाएको छ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेशराज जोशीका अनुसार कूल ७ दशमलव १२१ किलोमिटरमध्ये १ किलोमिटर सडक ढलान गरिएको छ । बाँकी सबै खण्ड कालोपत्र गरिएको छ । ‘गत बुधबार मात्रै कालोपत्रको काम सकिएको हो,’ उनले भने, ‘अब सडक सुरक्षासम्बन्धी केही साना काम मात्र बाँकी छन् ।’

पूर्वाधार विकास कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर शोभियत खड्काका अनुसार भौतिक रुपमा काम सम्पन्न भए पनि भुक्तानी प्रक्रिया अझै बाँकी छ। ‘निर्माण व्यवसायीलाई दिनुपर्ने केही भुक्तानी बाँकी नै छ,’ उनले भने, ‘चुनावी आचारसंहिताले आर्थिक व्यवस्थापनका प्रक्रिया अघि बढाउन सकिँदैन । आचारसंहिता हटेपछि भुक्तानीका आवश्यक प्रक्रिया र थप व्यवस्थापन गर्नुपर्नेछ ।’

कार्यालयका अनुसार सुरुको सम्झौतापछि निर्माण कम्पनीले १ करोड ९९ लाख ४१ हजार रुपैयाँ बराबरको भेरिएसन अर्डर थपेको छ । गत वर्षसम्म २२ करोड ५९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट विनियोजन भए पनि डेढ करोड रुपैयाँ मात्र प्राप्त भएको र त्यो रकम निर्माण व्यवसायीलाई भुक्तानी गरिसकिएको इन्जिनियर जोशीले बताए । ‘विनियोजित बजेटको बाँकी रकमले पनि पुग्दैन । यसका लागि थप बजेट व्यवस्थापन आवश्यक छ’ उनले भने ।

बेंसीसहर नगरपालिका–११ का वडाध्यक्ष शिवप्रसाद जोशीका अनुसार सडक निर्माण ढिलाइ हुँदा लामो समय स्थानीयवासी धुलो र हिलो सहन बाध्य थिए । ‘घरआँगनसम्म सडक कालोपत्र पुगेपछि नागरिक खुसी छन्,’ उनले भने ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले निर्माण कार्यमा ढिलाइ भए पनि अन्ततः सडक कालोपत्र सम्पन्न हुनु सकारात्मक भएको बताए । ‘बजेट भएको बेला निर्माण व्यवसायी सम्पर्कविहीन हुने, काम अघि बढाउँदा सरकारबाट पैसा नआउने समस्या पटक–पटक आयो,’ उनले भने, ‘यी सबै कारणले सडक निर्माण निकै ढिलो भयो ।’

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully