पूर्वी नवलपरासीको गैंडाकोटमा चौथो गैंडाकोट महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले युवालाई स्वदेशमै रोक्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै राज्यले नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए।
नवलपुर — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी बढाउने र उधमशीलतामा जोड दिनुपर्ने बताएका छन् ।
पूर्वी नवलपरासीको गैंडाकोटमा आजदेखि सुरु भएको चौथो गैंडाकोट महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले युवालाई स्वदेशमै रोक्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै राज्यले नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए ।
गैंडाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव आगामी माघ ११ गतेसम्म सञ्चालन हुने छ।२ सय ५० स्टल रहेको महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ। महोत्सवमा २५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाले बताए।
स्थानीय कृषिजन्य उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि कृषकले उत्पादन गरेका सामग्री निःशुल्क प्रदर्शनीका लागि उपलब्ध गराइएको उनले बताए।
