सराङकोटको केबलकारमा सशस्त्रको उद्धार अभ्यास

शुक्रबार दिउँसो सराङकोटबाट सेदी झर्ने क्रममा सिमतालस्थित केबलकारमा दुई जना यात्रुलाई अड्काएर सशस्त्रले उद्धार अभ्यास गरेको हो।

पुस २५, २०८२

प्रतीक्षा काफ्ले

Armed forces conduct rescue drill on Sarangkot cable car

What you should know

पोखरा — सशस्त्र प्रहरीले पोखरा महानगरपालिका–१८ सराङकोटस्थित केबलकारमा उद्धार अभ्यास गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपालको २४ नम्बर कालिका गणको आयोजनामा कुरिनटारको टोलीले अचानक केबलकार रोकिँदा अड्किने यात्रुको सुरक्षित उद्धारको अभ्यास गरेको हो । शुक्रबार दिउँसो सराङकोटबाट सेदी झर्ने क्रममा सिमतालस्थित केबलकारमा दुई जना यात्रुलाई अड्काएर सशस्त्रले उद्धार अभ्यास गरेको थियो।

भूकम्प, पहिरो, आगलागी तथा बाढीजस्ता विपदका घटनाको उद्धारमा सक्रिय सशस्त्र प्रहरीले केबलकारमा पहिलोपटक अभ्यास गरेको जनाएको छ। नेपालमा पोखरालगायत विभिन्न स्थानमा केबलकारको सख्या थपिँदै गएकाले यस सम्बन्धी उद्धार अभ्यास गरिएको संचालन गरेको सशस्त्रले जनाएको छ।  

उद्धार अभ्यास कार्यक्रममा पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटनको मुख्य आधार बनेका केबलकारजस्ता संरचनामा सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अत्यन्तै आवश्यक रहेको बताए। ‘विपद्को पूर्वतयारी हुनुपर्छ भन्छौँ, तर तयारी पुगेको हुँदैन,’ उनले भने, ‘भूगोलअनुसार दुर्घटना हुन सक्छन् । त्यसैले नियमित अभ्यास र समन्वय जरुरी छ ।’ नेपाल प्रहरी जनतासँग नजिक रहेर काम गरेको बताउँदै मेयर आचार्यले विपद्मा सशस्त्र प्रहरी अब्बल रहेको बताए। समन्वय र सहकार्यबाट नै विपद् उद्दार सम्भव रहेको बताउँदै उनले जनशक्ति भने न्यून रहेको सुनाए । सशस्त्र प्रहरीका अनुसार हालसम्म केबलकार टावरमा मानवीय क्षति भने भएको छैन् ।

सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी नम्बर–४ का तथा प्रदेश प्रमुख डीआईजी दिपेन्द्र शाहले विपद् उद्धारमा स्रोत, साधन र जनशक्ति थप गर्न प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा सशस्त्रको २४ नम्बर गणका गणपति सूर्यप्रसाद तिमिल्सिनाले नेपालमा केबलकार निर्माण तीव्र रूपमा बढिरहेकाले यस्ताे उद्धार अभ्यासको आवश्यकता बनेको बताए। ‘यो साहसिक र जोखिमपूर्ण उद्धार हो,’ उनले भने, ‘मानवीय सुरक्षालाई केन्द्रमा राखेर अत्याधुनिक उपकरण, समन्वय र संचार आवश्यक हुन्छ ।’

३८ वटा क्याबिन रहेको अन्नपूर्ण केबलकारमा प्रत्येक क्याबिनमा ८ जना अटाउने क्षमता रहेको र ११ वटा टावर प्रयोग गरिएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्दार कार्यमा विशेष सीप, उपकरण र तयारीसँगै नियमित अभ्यासले मात्रै मानवीय क्षति न्यूनीकरण गर्न बताइन्।  

प्रतीक्षा काफ्ले

Link copied successfully