जिल्लाका आठवटै पालिकाका पार्टी सभापतिहरू समेत विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका छन्।
What you should know
नवलपरासी पूर्व — कांग्रेसका महामन्त्रीद्वयले पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरेको विशेष महाधिवेशनमा पूर्वी नवलपरासीका करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।
पूर्वी नवलपरासीका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने ५० जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जना महाधिवेशनमा सहभागी हुने दाबी पार्टीका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले गरेका छन्। जिल्लाका आठवटै पालिकाका पार्टी सभापतिहरू समेत विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका छन्।
कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइराला पक्षधर रहेका ८ जना महाधिवेशन प्रतिनिधि भने विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वयले बोलाएको महाधिवेशनमा जान हुँदैन भन्दै आएका कोइरालाको यस जिल्लामा विरोध सुरु भएको छ।
विशेष महाधिवेशनको माग गर्दै पूर्वी नवलपरासीका ३५ जना महाधिवेशन प्रतिनिधिले अघिल्लो महिना विशेष महाधिवेशन बोलाउने अभियानमा हस्ताक्षर गरेका थिए।
हस्ताक्षर अभियानको नेतृत्व गरेका कांग्रेस नवलपरासीका उपसभापति बालकृष्ण घिमिरेका अनुसार बुधबार साँझसम्म जिल्ला सभापति महेन्द्रध्वज जीसीसहित ४२ जना महाधिवेशन प्रतिनिधिलाई आउँदो पुस २६ गते काठमाडौं जाने व्यवस्था गरिएको छ।
जिल्लामा कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालासहित ८ जना भने विशेष महाधिवेशनको विपक्षमा देखिएका छन्। विशेष महाधिवेशनको विपक्षमा रहेका कोइराला जिल्लामा अल्पमतमा परेको दाबी कांग्रेस नेताहरूले गरेका छन्।
आसन्न विशेष महाधिवेशनका सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवाको पछि लागेर डा. शशांक कोइरालाले ‘जेन–जी आन्दोलन’ र पार्टी विधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको छ। पूर्वी नवलपरासीमा महाधिवेशन प्रतिनिधिमध्ये २ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन्।
यसैबीच पश्चिम नवलपरासीमा विशेष महाधिवेशनको नेतृत्व गरेका कांग्रेस नेता भरत थापाका अनुसार त्यहाँबाट १७ जना महाधिवेशन प्रतिनिधि काठमाडौं जाने तयारीमा छन्। सुनवल नगरपालिकाका पूर्वमेयरसमेत रहेका थापाले पार्टीलाई ‘बुढाहरूको पञ्जाबाट मुक्त गर्न’ विशेष महाधिवेशनको गहिरो राजनीतिक अर्थ रहेको बताए।
