कात्तिक १६ गते भिजा सहजीकरणका लागि दिल्ली पुगेका निलबहादुर भोलिपल्टदेखि कसैको सम्पर्कमा छैनन्।
What you should know
लमजुङ — पछिल्लो समय घरमै मेलापात गरेर गुजारा चलाइरहेका निलबहादुर तामाङका लागि वैदेशिक रोजगारी नयाँ थिएन।
भारत र मलेसिया घुमिसकेका उनी फेरि विदेश जान निस्किँदा घरपरिवारले यसरी बाटो हेर्नुपर्ला भन्ने कसैले सोचेको थिएन। तर, आज उनलाई दोर्दी गाउँपालिका–९ हिलेको एउटा सानो घरमा ७४ वर्षका बुवादेखि अढाई वर्षको छोराले घरमा कुरिरहेका छन् । सबैको आँखामा एउटै प्रश्न छ–निलबहादुर कहाँ छन् ?
४१ वर्षीय निलबहादुर आम्दानीको निश्चित स्रोत नभएपछि टर्की जाने तयारीमा थिए। गाउँकै चिनजानका व्यक्ति श्रीप्रसाद गुरुङको माध्यमले काठमाडौंबाट प्रक्रिया अघि बढ्यो। कन्ट्याक्ट पेपर आएपछि म्यानपावरले भिजा सहजीकरण (भीएफएस) का लागि भारतको नयाँ दिल्ली पठायो। कात्तिक १७ गते बिहान ११ जनाको समूहले जनही २१ हजार भारतीय रुपैयाँ तिरेर भीएफएस गर्यो र नेपाल फर्कियो। तर निलबहादुर मात्रै फर्किएनन्।
उनी कात्तिक १४ गते घरबाट निस्किएका थिए । पानी परिरहेको दिन, ‘दिल्ली गएर पैसा बुझाउनुपर्छ’ भन्दै एजेन्टले बोलाएको कुरा श्रीमती मैतीमाया तामाङ सम्झिन्छिन् । ‘बाटोमा राम्रै बोलेको हो,’ काखमा अढाई वर्षको छोरा साहिल सुम्सुम्याउँदै उनी भन्छिन्, ‘१५ गते बेलुकी रक्सौल पुगियो भनेर फोन आयो, त्यसपछि सम्पर्कै छैन ।’
दिल्लीमा निलबहादुर एक्ला थिएनन् । उनीसँगै लमजुङकै सुन्दरबजार नगरपालिका–९ बगैंचाका विकास गुरुङ र फूलबारीका मोतीप्रसाद गुरुङ पनि थिए। कात्तिक १६ गते राति पहाडगन्जस्थित होटल अशोकमा उनीहरु बास बसे।
भोलिपल्ट बिहान भीएफएस गर्न सँगै गए। प्रक्रिया पनि सँगै गरियो । तर फर्किंदा, भीड र हतार बीच निलबहादुर छुटे। ‘गेट बाहिर निस्कँदै गर्दा एक्कासी हिँडे,’ मोतीप्रसाद सम्झन्छन्, ‘करिब ४५ मिनेट खोज्यौं, भेटिएन ।’ उनका अनुसार निलबहादुर केही डराएको जस्तो देखिन्थे । ‘पुलिस आयो’ भन्दै झस्किने, वरपर हेर्दै हिँड्ने गरिरहेका थिए। भारतीय ३ हजार ५ सय र नेपाली करिब २ हजार ५ सय रुपैयाँ उनको साथमा थियो । बैंक पासबुक, चेक, राष्ट्रिय परिचयपत्र र कपडासहितको झोला सबै बास बसेको होटलमा छोडिएका छन्।
एक महिना बित्यो, न होटल फर्के, न गाउँ। होटलमा छाडिएको झोला र त्यसभित्रका सामानको भिडियो पठाएपछि उनी पक्कै हराएको भनी घरमा रुवावासी चल्यो । खबर सुनेपछि ६९ वर्षीया आमा आइतु तामाङले आँसु थाम्न सकेकी छैनन् । ‘बरु गाउँमै बसेर काम गरेर खाएको भए हुन्थ्यो,’ छोराको फोटो सुम्सुम्याउँदै उनी भन्छिन्, ‘कहाँ छ मेरो छोरा ? खोजिदिनुपर्यो ।’
निलबहादुर आइतुका माइला छोरा हुन् । जेठो गाउँमै छन्, कान्छो साउदीमा । छोरा साहिललाई काखी च्यापेर श्रीमती मैतीमाया बेंसीसहर आइपुग्दा झोलाभित्र श्रीमान्को तस्बिर र मनभित्र असहृय चिन्ता थियो । ‘अब लालाबाला कसरी पाल्ने ?’ आँसु पुछ्दै उनी सोध्छिन्।
परिवारलाई सहयोग गर्न परिवारका ज्वाईं कृष्णबहादुर तामाङ लागि परेका छन् । गाउँकै खेमजङ गुरुङले पनि सहयोग गरेका छन् । उनीहरुको दिनचर्या सूचना संकलनमै बित्ने गरेको छ। एजेन्ट श्रीप्रसाद गुरुङ पनि अप्ठ्यारोमा छन् । ‘घरबाट ५० हजार ल्याएको रहेछ, नपुग्ला भनेर मैले नै ४ हजार थपेर पठाएको,’ उनी भन्छन् । टर्की जाने अरुको फ्लाइट नजिकिँदै गर्दा निलबहादुरको खबर नआउनुले सबैलाई झस्काएको उनी बताउँछन् ।
