दलगत राजनीति नै विकासको मुख्य बाधक बन्यो : पञ्चराम गुरुङ

विकास योजना जनताको आवश्यकता अनुसार नभई दलको समीकरण र भागबण्डाको आधारमा बाँडिँदा गाउँलेले सास्ती भोग्नुपरेको उनको आरोप छ ।

पुस २४, २०८२

प्रतीक्षा काफ्ले

Party politics has become the main obstacle to development: Pancharam Gurung

What you should know

स्याङ्जा — गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री पञ्चराम गुरुङले दलगत राजनीतिले गाउँको विकासलाई जानीजानी बन्धक बनाएको आरोप लगाएका छन् । विकासका नाममा हुने राजनीतिक भागबण्डा, स्वार्थ र शक्ति संघर्षका कारण गाउँ दशकौँदेखि उही अवस्थामा अल्झिएको उनको भनाइ छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–७ बाच्पुरमा आयोजित ल्होसार कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै गुरुङले राजनीतिक दलहरू विकासको बाधक बन्दै गएको टिप्पणी गरेका हुन् ।

‘गाउँ बनाउने हो भने राजनीति बन्द गर्नुपर्छ,’ उनले भने, ‘आज गाउँ–गाउँमा विकास होइन, पार्टीको झण्डा गाड्ने प्रतिस्पर्धा चलेको छ । यही प्रतिस्पर्धाले गाउँलाई तितरवितर बनाएको छ ।’ उनले सत्तामा पुगेका दलहरूले आफ्ना कार्यकर्ता र समर्थकलाई खुसी पार्न मात्रै योजना बाँड्ने प्रवृत्तिले विकासको मर्म मरेको बताए । विकास योजना जनताको आवश्यकता अनुसार नभई दलको समीकरण र भागबण्डाको आधारमा बाँडिँदा गाउँलेले सास्ती भोग्नुपरेको उनको आरोप छ ।

‘सानोतिनो काममा पनि कुन पार्टीको वडा, कुन पार्टीको टोल भनेर हेर्ने गरिन्छ,’ उनले भने, ‘यसरी राजनीति छिरेपछि विकास कहाँबाट आउँछ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सभा राप्रपा संसदीय दलका नेतासमेत रहेका गुरुङले लोकतन्त्रको नाममा भइरहेको दलगत ध्रुवीकरणले समाजलाई विभाजनतर्फ धकेलेको बताए । ‘हामी तेरो–मेरो, यो पार्टी–त्यो पार्टी भन्दै लडिरह्यौँ, तर गाउँ उहीँको उहीँ रह्यो,’ उनले कटाक्ष गरे ।

आगामी निर्वाचनलाई लक्षित गर्दै उनले मतदातालाई दलको भ्रममा नपर्न पनि चेतावनी दिए । ‘भोट पार्टीलाई होइन, काम गर्ने मान्छेलाई दिनूस्,’ उनले भने, ‘पार्टीको झण्डा बोकेर हिँड्नेले होइन, गाउँमा पसिना बगाउनेले जित्नुपर्छ ।’ गुरुङले सबै राजनीतिक दल र नेताले आत्मालोचना गर्नुपर्ने समय आएको बताए । विकासलाई राजनीतिभन्दा माथि राख्न नसके गाउँ सुनसान बन्दै जाने उनले बताए ।

आफ्नै पहलमा बाच्पुरमा पहिलोपटक सडक पुगेको स्मरण गर्दै उनले काम गरेर देखाउने नेतृत्वको आवश्यकता औंल्याए । सडक पुगे पनि राजनीतिक उपेक्षाका कारण कालोपत्र हुन नसकेको प्रति उनले असन्तुष्टि जनाए ।

स्थानीयवासीले सडक कालोपत्र भए गाउँ फर्क अभियानले गति लिने बताएका छन् । युवा पलायन रोक्न आधारभूत पूर्वाधार नै पहिलो सर्त भएको स्थानीय भुमा गुरुङ बताउँछिन् । कार्यक्रममा सांसद गुरुङले ल्होसार पर्वजस्ता सांस्कृतिक कार्यक्रमले समाजलाई जोड्ने काम गर्ने बताए । तर राजनीति समाज तोड्ने दिशामा लागेको उनको टिप्पणी थियो । ‘संस्कृतिले हामीलाई जोड्छ, तर आजको राजनीति हामीलाई फुटाउँछ,’ उनले दोहोर्‍याए, ‘अब जनता सचेत हुनुपर्छ ।’

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, चेलिबेटी भेटघाट र सामाजिक एकताको सन्देश दिइएको थियो । 

प्रतीक्षा काफ्ले

Link copied successfully