रत्यौली प्रतियोगितामा गोरखकाली पहिलो

रत्यौली गीतलाई सभ्य रूपमा प्रतिस्पर्धात्मक तवरले संचालन गर्दा यसको महत्त्व अझ बढेको लोक दोहोरीका सर्जक काजीबाबु अर्यालले बताए ।

पुस २३, २०८२

हरिराम उप्रेती

Gorakhkali wins first place in Ratauli competition

गोरखा — गोरखा उद्योग वाणिज्य संघको आयोजना हरमटारी खेलकुद मैदानमा भएको रत्यौली गीत प्रतियोगितामा गोरखा नगरपालिका–९ को गोरखकाली महिला नौमती बाजा समूह प्रथम भएको छ ।

प्रतियोगितामा १२ समूहको सहभागिता थियो । महोत्सवमा रत्यौली गीत प्रतियोगिता आकर्षणको केन्द्र बनेको थियो । रत्यौली गीतलाई सभ्य रूपमा प्रतिस्पर्धात्मक तवरले संचालन गर्दा यसको महत्त्व अझ बढेको लोक दोहोरीका सर्जक काजीबाबु अर्यालले बताए । 

‘पहिले पहिले दुई दिने, तिन दिने विवाह हुन्थ्यो, दुलहा अन्माएर गएपछि रातको समयमा ठट्यौली पाराले गीत गाउने भएकाले रत्यौली भनिएको हो,’ उनले भने, ‘अहिले एक दिने विवाह भए पनि यो प्रचलन हटेको छैन, यो हाम्रो निकै पुरानो लोक संस्कृति हो ।’

पहिलो बनेको गोरखकाली महिला नौमती बाजा समूहलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको महोत्सवका खेलकुद तथा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक शरण श्रेष्ठले बताए । 

त्यसैगरी प्रतियोगितामा गोरखा–६ को रमाइलो दिदी–बहिनी महिला समूह हरमटारी दोस्रो र गोरखा–३ को प्रगतिशील कृषि महिला समूह नारेश्वर तेस्रो बनेको छ । दोस्रो र तेस्रोले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार पाए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully