गोरखा–काठमाडौं एकीकरण पदमार्गमा सेनाको पदयात्रा

सोमबार गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट नेपाली सेनाले पत्रयात्रा सुरु गरेको हो।

पुस २१, २०८२

हरिराम उप्रेती

Army trekking on Gorkha-Kathmandu Integration Trail

What you should know

गोरखा — पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ।

सोमबार गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट नेपाली सेनाले पत्रयात्रा सुरु गरेको हो।

पदयात्राको पहिलो दिन सेनाको रुद्रध्वज गणले भीमसेन थापा–८ बोर्लाङस्थित घाटवेशीसम्मको यात्रा गर्ने छ। पदयात्रा टोली धादिङ, नुवाकोट हुँदै काठमाडौ पुग्ने छ।

गोरखा दरबारबाट काठमाडौंस्थित हनुमानढोकासम्मको २६ कोषको पदयात्रा धादिङ, नुवाकोट हुँदै  पौष २७ गते पृथ्वीजयन्तीका दिन टु‌ंगिने छ।

कालो दौरासलवार, टाउकोमा चातोडा, कम्मरमा खुकुरी, हातमा भरुवा बन्दुकसहित शाहकालीन पोशाकमा सजिएका सेनाको शार्दुलजंग गुल्मको टुकडीसहितको नेपाली सेनाले एकीकरण पैदलमार्गमा यात्रा गरेको हो।

यात्राको पहिलो दिन सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापाले टर्च र झण्डा हस्तान्तरण गरेसँगै पदयात्रा सुरु भएको हो।

रुद्रध्वज गणले यात्राको पहिलो दिन सोमबार गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट ताप्ले–अश्राङ–वोर्लाङसम्मको पहिलो खण्डको यात्रा पूरा गर्ने छ। राष्ट्रिय झण्डा, टर्च, नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिवक्स, पुरानो गोरख, वर्दवहादुर र सवुज)को झण्डासहित टोलीले पदयात्रा सुरु गरेको सेनाले जनाएको छ। नेपाली सेनाका पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको सेनाले जनाएको छ।

एकीकरण पदमार्गका पुरानो गढी, किल्ला, पाटीपौवा, कोशेढुङ्गा जगेर्ना गर्ने सरकारको नीति बमोजिम सेनाले २०७६ सालबाट हरेक वर्ष पदयात्रा गर्दै आएको छ।

उक्त यात्राले नेपाल एकीकरण पदमार्ग तथा ऐतिहासिक धरोहरबारे भावी पुस्तालाई जानकारी गराउन समेत सघाउ पुग्ने सेनाको विश्वास छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको उक्त पदमार्गमा ढुङ्धोरा, कोशेढुङ्गा, पाटीपौवा अझै पनि देख्न सकिन्छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully