मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका लोमान्थाङ, जोमसोम तथा मनाङ कार्यालयहरुले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन् ।

पुस १९, २०८२

रासस

Simultaneous snow leopard survey in Mustang and Manang

What you should know

मुस्ताङ — दुर्लभ वन्यजन्तु हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन मुस्ताङ र मनाङमा एकैसाथ सर्वेक्षण सुरु गरिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका लोमान्थाङ, जोमसोम तथा मनाङ कार्यालयहरुले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन् ।

यसअघि एक्याप तथा हिउँचितुवासम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकायले हिउँचितुवाको सम्भावित बासस्थान रहेका स्थानमा सीमित सङ्ख्यामा क्योमरा ट्रयापिङ गरी सर्वेक्षण गर्दै आएका थिए।

यसले मुस्ताङ र मनाङमा हिउँचितुवाको सङ्ख्या एकिन हुन सकिरहेको थिएन। यसवर्ष भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङ र मनाङले हिउँचितुवाको सर्वेक्षणका लागि क्यामेरा ट्रयापिङलगायत काम गरिरहेका छन् ।

हिउँदयाम सर्वेक्षणको उपयुक्त समय भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए। हिउँदयाममा समुन्द्री सतहको करिब चार हजार मिटरको उचाइमा हिउँपर्ने भएकाले घाँसको अभाव हुने भएकाले हिउँचितुवाको आहारा प्रजाति तल झर्छन्। सर्वेक्षणका लागि मुस्ताङका १६१ ग्रीडमध्ये चार पालिकामा १३० वटाभन्दा बढी क्यामेरा ट्रयापिङ गरिने प्रमुख पौडेलले बताए। 

सर्वेक्षणमा हिउँचितुवाको बासस्थान र आवतजावत गर्ने स्थानको उच्चलेंकमा एक्यापका प्राविधिक तथा स्थानीयवासी परिचालन गरिएको उनले बताए। एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न हिउँचितुवाको बासस्थान रहने क्षेत्रमा ९९ वटाभन्दा बढी क्यामेरा राखिने योजना रहेको जनाएको छ । 

यसैगरी, एक्याप जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्ता आसपासका क्षेत्रमा ट्रयापिङका लागि सात वटा क्यामेरा जडान गरेको छ। यसअघि यहाँको मार्फा, चिमाङ, ठिनी, झोङ र छेङ्गुर लगायतका लेंकमा बायोकोस नेपाल र एक्यापले १६ वटा क्योमरा राखिसकेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।

प्रमुख गुप्ताका अनुसार मुस्ताङमा हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन र हिउँचितुवाको आहारा प्रजातिको अवस्थासम्बन्धी अध्ययनका लागि क्यामेरा ट्रयापिङ भइरहेको बताए।

मनाङमा पनि अगस्टको दोस्रो सातादेखि हिउँचितुवाको सर्वेक्षणसुरु भइसकेको एक्याप मनाङका कार्यायल प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार मनाङमा सर्वेक्षणका लागि १२९ वटा क्यामेरा ट्रयापिङ गरिसकेको र हाल राखिएका क्यामेराहरुको अनुमगन तथा निगरानी गर्ने काम भइरहेको छ । 'हामीले मनाङका चार पालिकामा हिउँचितुवाको बासस्थान क्षेत्रमा क्यामेरा ट्रयापिङ गर्ने काम सकेका छौँ, एकाथ आवश्यक ठाउँमा क्यामेरा थप्ने काम भएको छ,' कार्यालय प्रमुख भुजेल भने, 'यहाँ हामीले २२ वटा क्यामेरा हिमाली ब्वाँसोका लागि र बाँकी १०७ वटा क्यामेरा हिउँ चितुवा र चितुवाको अध्ययनका लागि छुट्याएका छौं ।'

मुस्ताङ र मनाङमा हिउँचितुवा सर्वेक्षणका लागि राखिएका क्यामेरा ६ महिनासम्म फिल्डमै रहने जनाइएको छ। त्यसपछि हिउँचितुवाको सर्वेक्षणका लागि राखिएका क्यामेरा निकालेर डेटा सर्वेक्षण सुरु गरिने छ।

रासस

Link copied successfully