पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा पर्ने त्रिवेणीधामका बासिन्दाले आफ्नो गाउँपालिका कार्यालय पुग्न ४७ किलोमिटर घुमाउरो बाटो लुम्बिनी प्रदेशको सडक हुँदै जानुपर्ने बाध्यता छ।
What you should know
नवलपरासी — भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले त्रिवेणी-दुम्कीवास सडक तत्काल खोल्नका लागि प्राविधिक काम अघि बढाउन मातहातका कर्मचारीलाई निर्देशन दिएका छन्।
शनिबार बिहान त्रिवेणी-दुम्कीवास जोड्न सडक सञ्जाल नहुँदा त्रिवेणीवासीलाई ठूलो समस्या भएको गुनासो गर्न पुगेका स्थानीय सुरज गुरुङको टोलीको कुरा सुनेपछि मन्त्री घिसिङले सडक विभागका महानिर्देक विजय जैसीलाई टेलिफोन गरेर तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन्।
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा पर्ने त्रिवेणीधामका बासिन्दा आफ्नो गाउँपालिका कार्यालय पुग्न ४७ किलोमिटर घुमाउरो बाटो लुम्बिनी प्रदेशको सडक हुँदै जानुपर्ने बाध्यता छ। यो बाध्यता अन्त्य गर्न त्रिवेणी-दुम्कीवास सडक खोल्न माग गर्दै निवासमा पुगेका स्थानीयको गुनासो सुनेपछि मन्त्री घिसिङले सडक विभागका महानिर्देशक जैसीलाई काम अघि बढाउन निर्देशन दिएका हुन्।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ र ७ भारतीय सिमानासँग जोडिएको त्रिवेणीधाममा पर्छ। त्रिवेणीका बासिन्दा आफ्नो गाउँपालिकाको कार्यालय दुम्कीवास पुग्न त्रिवेणी बर्दघाट, दाउन्ने हुँदै ४६ किलोमिटर टाढा दुम्कीवास आउनुपर्ने बाध्यता छ ।
गण्डकी प्रदेश सरकारले हरेक वर्ष त्रिवेणी-दुम्कीवास सडक निर्माण गर्ने भन्दै आए पनि काम नभएका कारण स्थानीयको टाेली मन्त्री घिसिङलाई भेट्न शनिबार काठमाडाैं पुगेको हो।
अघिल्लो साता मन्त्री घिसिङ त्रिवेणी पुग्दा स्थानीयले तत्काल त्रिवेणी-दुम्कीवास सडक निर्माणको काम अघि नबढाउने हो भने आफुहरुलाई लुम्बिनी प्रदेशमा गाँभ्न माग गरेका थिए ।
त्रिवेणीबाट २२ किलोमिटर सडक निर्माण हुन सके महेन्द्रराजमार्ग रहेको दुम्कीवास बजार पुग्न सकिन्छ। त्यो सडकको ७ किलोमिटर छिचोले दुम्कीवास पुगिन्छ।
२०६० सालमा त्रिवेणीधामस्थित गजेन्द्र मोक्षधामका पिठाधीश कमलनयाचार्यले श्रमदान गराएर त्रिवेणीदेखि दुम्कीवास जोड्ने सडक छिचोल्ने काम गरेका थिए । त्यसपछि वन कार्यालयले उक्त सडक आवागमनमा रोकेका कारण त्यहाँबाट आउजाउ हुन सकेको छैन ।
