सन् २०२५ मा मनास्लु क्षेत्रमा विदेशी र स्वदेशी गरी १५ हजारभन्दा बढी पर्यटक पुगेका छन्, जसमध्ये अधिकांशले अनलाइनमार्फत अनुमति लिएका थिए ।
What you should know
गोरखा — सन् २०२५ मा १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ मा १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । १४ हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उनले जानकारी दिए ।
२०२५ मा पर्यटन भित्रिएबापत तीन करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क संकलन भएको छ । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट रु ४८ हजार सङ्कलन भएको छ ।
मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था छ । 'पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ,' उनले भने, 'यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।'
नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति एक सय प्रवेश शुल्क तोकिएको उनी बताउँछन् । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकहरूको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए ।
एमक्यापको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७८२ जना, २०७९/८० मा ७ हजार ७०५ र ०७८/७९ मा २ हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।
सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ०७७/७८ मा सबैभन्दा कम अर्थात् जम्मा एक सय ९४ जना, २०७६/७७ मा ५ हजार ३३८ र २०७५/७६ मा ७ हजार ६५५ जना रहेको थियो ।
