२१ औं लेखनाथ महोत्सवमा लक्ष्यभन्दा बढी कारोबार

९ करोडको कारोबार र २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ११ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको र ३ लाख ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका थिए ।

पुस १४, २०८२

दीपक परियार

Turnover exceeds target at 21st Lekhnath Festival

What you should know

पोखरा — सोमबार सम्पन्न २१ औं लेखनाथ महोत्सवमा लक्ष्यभन्दा बढी कारोबार भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा १२ दिनसम्म सञ्चालित महोत्सवमा ११ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । महोत्सव अवधिभर ३ लाख ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका थिए ।

९ करोडको कारोबार र २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवले आयोजकको अपेक्षाभन्दा बढी सफलता पाएको महोत्सवका प्रचार–प्रसार संयोजक युवराज भट्टराईले बताए । उनका अनुसार यो महोत्सवको इतिहासमै सबैभन्दा ठूलो कारोबार हो ।

समापन समारोहमा बोल्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले यस्ता मेलाले आर्थिक समृद्धिमा टेवा पुर्‍याउने बताए । क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवाको बजारीकरणमा महोत्सवले महत्त्वपूर्ण योगदान दिएको उनको भनाइ थियो । ‘जेन–जी आन्दोलन र प्रदर्शनका कारण व्यवसायीमा पुगेको क्षति र गिरेको मनोबलका बीच आर्थिक अवस्था कसरी सुधार्न सकिन्छ भन्नेमा हामी चिन्तनशील हुनुपर्छ,’ उनले भने । उनले साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनास तालमा ‘वाटर स्पोटर्स’ सञ्चालन गर्ने योजना स्थानीयको सहयोगमा अघि बढाइने जानकारी दिए । पोखरा–मुग्लिन सडक निर्माण अन्तिम चरणमा पुगेकाले अब पोखरा र लेखनाथबीचको दुरी घट्ने र महानगरले लेखनाथको विकासमा कुनै विभेद नगरेको उनले प्रष्ट पारे ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याएको बताउँदै रुपा र पोखराको एकीकृत विकासका लागि योजना बनाउनुपर्ने सुझाव दिए । पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले सामाजिक संघ–संस्था र व्यवसायी मिलेर एकीकृत विकासको योजना बनाउन आग्रह गरे ।

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औं संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताइन् । उत्पादक र उपभोक्तालाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्‍याउनु महोत्सवको मूल उद्देश्य रहेको उनले बताइन् । संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले अन्य वर्षको तुलनामा यसपल्टको महोत्सव बढी सफल रहेको बताए ।

समापन कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट व्यवसायी, दर्शक र कलाकारलाई सम्मान गरिएको थियो । महोत्सवबाट हुने बचत रकम प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको पहल र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully