बुकीमै बुढेसकाल : गुर्जाका गोठालाको संघर्षमय कथा

घरको मुख्य आम्दानीको स्रोत भेडापालन भएकाले उनीहरुको बाल्यकाल र यौवन मात्रै होइन बुढेसकाल बुकीमै बितिरहेको छ ।

पुस १४, २०८२

रासस

Old age in the book: The story of the struggle of a shepherd from Gurja

What you should know

म्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । 

भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने गर्छन् उनी । हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने सात वर्षको बालक हुँदादेखिको समय तालिका अझै फेरिएको छैन । 'बिहान उठेदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहार सुसारमा व्यस्त हुने मैले घर नजिकै रहेको जनकल्याण माविमा पढ्नका लागि जिन्दगीमा कहिल्यै पनि पाइला टेकिनँ,' उनले भने, 'बाल्यकालमा घरपरिवारको बाध्यता र त्यतिबेलाको परिवेशका कारण पढ्न नपाउँदा अहिले पछुतो लागेको छ ।' 

घरको मुख्य आम्दानीको स्रोत भेडापालनमा बाल्यअवस्था, तन्नेरी र बुढेसकाल बिताएका नरेन्द्रको जीवनका सबैभन्दा रमाइलो, उत्साहजनक जोस र जाँगर बुकीमै हिउँसँगै पग्लिएर गयो । उनीसँग केवल गोठमा घामपानी, असिना, हिउँमा कठिन तरिकाले रमाएका र वन्यजन्तुले झम्टिएको अनुभवहरू छन् । 

बालापनको रमाइलो अनुभव भनेकै भेडाका बथानसँग बिताएका क्षण सम्झिने नरेन्द्रले सिकिस्त बिरामी हुँदासमेत बुकी छाडेनन् । लेकाली क्षेत्रको चरन क्षेत्रलाई बुकी र गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । पुर्ख्यौली पेसालाई निरन्तरता दिएका नरेन्द्रको गोठमा अहिले २५ वटामात्रै भेडा, पाठापाठी छन् ।

तन्नेरी अवस्थामा तीन सयसम्म भेडापालेका उनले अहिले गोठालाको अभाव हुन थालेपछि सङ्ख्या घटाउँदै लगेका छन् । 'एक्लै भेडापालन गर्न मुस्किल छ, जीवन नै बुकीमा बित्यो, अब घरखर्च चलाउनै मात्रै पाल्छु,' उनले भने, 'अनपढ भएकाले भेडाको गणना, मूल्य र हरहिसाब राख्न अलमल हुँदा दुःख भयो ।'  

हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने उनको अनुभव छ । जाडो याममा हिउँ पर्न थालेपछि गोठ लिएर गाउँमा झरेका उनी बर्खाको समयमा भीषण वर्षामा पनि बुकीमै बिताउँछन् ।

वर्षामा वन्यजन्तुको आक्रमणबाट बचाएर पाठापाठी हुर्काउन बढी समस्या हुने गरेको छ । त्यही भएर उनी बर्सेनि भेडाका बथानबाट वन्यजन्तुले गर्ने नोक्सानी जोगाउन कुकुरलाई सँगै राख्ने गर्छन् । भोटे कुकुरले आफ्नो र जङ्गली जनावरबाट भेडालाई जोगाउन मद्दत गरेको उनले बताए ।

'चितुवाले झम्टिँदा प्रतिकार गरेर मृत्युको मुखबाट बचेको छु,' उनले भने, 'गोठमा बस्न पनि सजिलो छैन ।'

नरेन्द्र जस्तै गुर्जाका ६८ वर्षीय गोरे छन्त्याले पनि पाँच दशकभन्दा बढी भेडाको बथानसँगै गोठमा बिताए । ९ वर्षको उमेरमा बुकीतिर उकालो लागेका गोरेलाई अहिले पनि भेडाको बथानले घेर्ने गर्छ  । उमेर अनुसार शरीरले आराम मागे पनि गोरेको दैनिकी तन्नेरीको भन्दा कम छैन । 

उनले वार्षिक १० लाखको भेडा नै बेचेर कमाउने बताए । गुर्जामा करिब २० घरपरिवारले व्यावसायिक भेडापालन गरेका छन् । युवापुस्ता वैदेशिक रोजगारीका लागि पलायन हुन थालेपछि भेडागोठ बुढापाकाले धानेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

भेडा बेच्न बजार जानुपर्ने बाध्यता छैन । गाउँमा विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेका छन् । परम्परागत रुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

गाउँपालिकाले पनि भेडापालन किसानलाई लक्षित गरेर विभिन्न रोगविरुद्धको खोप अभियान, औषधि उपचार, गोठाला बस्नका लागि त्रिपाल, मोबाइल चार्जका लागि सोलार र गोठ सुधारका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । 

गोठलाहरुको नियमित स्वास्थ्य परीक्षणमासमेत जोड्ने गरिएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङमा परम्परागत घुम्ती गोठमा परम्परागत हिसाबले पशुपालन गर्ने चलन छ । 

रासस

Link copied successfully