चालु आर्थिक वर्षमा हुलाक सेवा विभागले गोरखासहित ५० वटा जिल्ला तथा स्थानीय हुलाकलाई स्मार्ट हुलाक घोषणका लागि प्रक्रिया सुरु गरेको थियो ।
What you should know
गोरखा — जिल्ला हुलाक कार्यालय गोरखालाई स्मार्ट हुलाक घोषणा गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्मार्ट हुलाक घोषणा गरेका हुन् ।
चालु आर्थिक वर्ष हुलाक सेवा विभागले गोरखासहित ५० वटा जिल्ला तथा स्थानीय हुलाकलाई स्मार्ट हुलाक घोषणका लागि प्रक्रिया सुरु गरेको थियो ।
स्मार्ट हुलाकका लागि आवश्यक तालिम र अनलाइन प्रणाली व्यवस्थित भएसँगै ५० मध्ये स्माट हुलाक घोषणामा गोरखा पहिलो बनेको कार्यालयका प्रमुख विनोदप्रसाद गैरेले बताए ।
‘स्मार्ट हुलाकका लागि मुख्य काम भनेको हुलाकको सूचना प्रणालीलाई व्यवस्थित बनाएका छौं,’ उनले भने, ‘सूचना प्रणाली व्यवस्थित बनेपछि जो कोहीले चिठी पठाएपछि आफ्नो मोबाइलबाट त्यो चिठी कहाँ पुग्यो, कहिले सम्बन्धित निकायको हातमा पुगेको छ, आफैं हेर्न मिल्छ, यसका लािग जिल्ला हुलाककै वेबसाइटमार्फत पनि हेर्न सकिने भयो ।’
जिल्लाका ११ वटै स्थानीय तहमा रहेका पालिका हुलाकमा सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाइएको गैरेले बताए । यसका अलावा हुलाकी र हल्करालाई ड्राइभिङ तालिम तथा कम्प्युटर र अनलाइनका बारेमा तालिम र जानकारी उपलब्ध गराइएको छ । ‘दुइ पाङ्ग्रे ड्राइभिङ तालिम लिएपछि एक घण्टामै चिठीपत्र पुर्याउन मिलेको छ, चिठी बोकेर एक दिन पैदल हिँड्नु पर्दैन,’ उनले भने ।
अब हुलाक सेवालाई अझै व्यवस्थित गर्नका लागि आवश्यक विषयमा पनि तयारी भइरहेको उनले बताए । ‘सर्टिफिकेट, लाइसेन्स, पासपोर्ट लगायतका सर्भिस डेलिभरीका पाटोमा पनि काम गर्न सक्यौं भने जनतालाई सहज र सरल सेवा पाउँछन्, यस्ता विषयमा पनि छलफल थालेका छौं,’ उनले भने । अब विस्तारित र विकसित हुलाक सेवा सुरु गरिएको उनले बताए ।
