तीन दशकपछि पोखरा सडक महोत्सवमा गुञ्जँदै ‘एक्स नेपथ्य’

२७ औं पोखरा सडक महोत्सवको तयारीमा सिँगारियो लेकसाइड ।

पुस ११, २०८२

दीपक परियार

'X Nepathya' resounding at Pokhara Street Festival after three decades

What you should know

पोखरा — ५० को दशकमा नेपथ्य ब्यान्ड उदाउँदा चर्चित भएका गीत ‘आँगनैभरि’ र ‘छेक्यो छेक्यो देउराली डाँडा’ का गायक रविन श्रेष्ठ र ‘जोमसोमै बजारमा’, ‘गण्डकीको तिरैमा’ का गायक गौतम गुरुङ एकसाथ पोखराको मञ्चमा प्रस्तुति दिँदैछन् । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि पोखरामा आयोजना हुन लागेको २७ औं पोखरा सडक महोत्सवले उक्त अवसर जुराएको हो । 

महोत्सवको मुख्य आकर्षणका रूपमा ‘एक्स नेपथ्य’ले तीन दशकपछि नेपालमा लाइभ प्रस्तुति दिने भएको हो । १३ देखि १७ पुससम्म लेकसाइडमा आयोजना हुने यो महोत्सवको ‘न्यु इयर इभ’मा १६ गते एक्स नेपथ्यका स्थापनाकालीन गायक रविन श्रेष्ठ र गौतम गुरुङले कोमागाने पार्कमा सांगीतिक प्रस्तुति दिनेछन् ।

'X Nepathya' resounding at Pokhara Street Festival after three decadesरेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा हुन लागेको महोत्सवमा रविन श्रेष्ठले ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँगनै भरी’, ‘नक्कली कान्छी’ लगायतका कालजयी गीत प्रस्तुत गर्नेछन् । त्यस्तै, गौतम गुरुङले ‘जोमसोमै बजारमा’, ‘गण्डकीको तिरैमा’, ‘झरीले रुझेको आकाश’, ‘यार्लिङ कहाँ खस्यो’ जस्ता चर्चित गीत गुञ्जाउनेछन् । 

पोखराको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले रेबान पोखराले ‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऊँ’ भन्ने नाराका साथ यो महोत्सवको आयोजना गर्दै आएको छ । सन् १९९८ बाट सुरु भएको यो महोत्सवले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

'X Nepathya' resounding at Pokhara Street Festival after three decadesन्यु इयर इभको सांगीतिक उत्सवमा एक्स नेपथ्यसँगै गायक उजन शाक्य पनि गुञ्जिने सांगीतिक उत्सवको संयोजन गरिरहेका अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । शाक्यले ‘बेबी’, ‘राजमती चा’, ‘लुमन्ती’, ‘कुमारी’, ‘मतिनाया स्वाः’ लगायतका लोकप्रिय गीत प्रस्तुत गर्नेछन् । त्यस दिन डी–मर्चा, लेकाली र देउराली ब्यान्डको पनि लाइभ प्रस्तुति हुनेछ । विशेष आकर्षणका रूपमा कार्टुन क्रुजकी डान्सर आस्मा विश्वकर्माले ‘चिकिरी चिकिरी’ लगायतका गीतमा नृत्य प्रस्तुत गर्नेछिन् । 

१५ पुसको साँझ स्वप्न सुमन र केहर एन्ड द लुंगाको लाइभ प्रस्तुति हुनेछ । उक्त दिन चक्र ब्यान्डको पनि प्रस्तुति हुनेछ । दिउँसो प्रिती आले, देउराली ब्यान्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ । महोत्सवमा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, जीवन दाहाल र चोलेन्द्र पौडेलको प्रस्तुति हुने छ । १४ पुसमा अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म अन्तर विद्यालय ब्यान्ड प्रतियोगिताका विजेता तथा उपविजेताको सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।

आइतबारबाट सुरु हुने महोत्सवका लागि लेकसाइड क्षेत्र सिँगारिएको छ । रेबान पोखराले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले खहरेदेखि अम्बोटसम्मको साढे तीन किलोमिटर क्षेत्रमा हुने यो महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजलाई प्राथमिकतासाथ प्रदर्शनी गरिने बताए । पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन र पर्यटकीय गन्तव्यको प्रवर्द्धन पनि गरिने उनले जानकारी दिए । 

महोत्सव संयोजक बसन्त गौतमले विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी हुने बताए । खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगिता लगायत विभिन्न कार्यक्रम समावेश गरिएको छ । ‘सडक महोत्सव लोपोन्मुख कला संस्कृति, धर्म, जातजाति, मौलिक तथा रैथाने खाना एउटै थलोमा ल्याएर प्रवर्द्धन गर्ने माध्यम बनेको छ,’ उनले भने ।

उक्त सडक क्षेत्रमा विभिन्न ठाउँमा स्टेज बनाएर सांस्कृतिक कार्यक्रम प्रदर्शनी गरिने गरिन्छ । महोत्सव अवधिभर लेकसाइड क्षेत्रका सयौं रेस्टुरेन्ट तथा बारहरूले सडकबाटै सेवा दिने गर्छन् ।  

कृषि तथा हस्तकलालाई पनि प्रवर्द्धन गर्नका लागि पोखरा सेरोफेरो तथा देशका विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा सामग्रीलाई बजारीकरण गर्न निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सडकमै गुरुङ संस्कृतिमा आधारित ‘रोधी’ सञ्चालन गरिने रेबान पोखराका उपाध्यक्ष चौबहादुर गुरुङले बताए । रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनले गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍यालीले थप रौनकता प्रदान गर्ने बताए । यसपल्टको महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully