बुढ्यौलीमा दृष्टि फर्कँदा मख्ख

क्व्होलासोथार गाउँपालिका–५ सिङ्दीमा आयाेजित शिविरमा ५४ जनाको मोतीबिन्दूको शल्यक्रिया भएपछि वर्षाैंदेखि गुमेकाे ज्याेति फर्किएकाे छ ।

पुस ८, २०८२

आश गुरुङ

Happiness when eyesight returns in old age

What you should know

सिङ्दी, लमजुङ — ९३ वर्षका केशबीर गुरुङका लागि बिहान उदाउँदै गरेको घाम अब अनुमान मात्र थिएन । मंगलबार बिहान परको गिलुङ डाँडामाथिबाट झुल्केको घाम मज्जाले देख्दा उनलाई विश्वास नै लागेन ।

वर्षौंदेखि धमिलो संसारमा बाँचिरहेका केशबीरका लागि त्यो क्षण नयाँ जीवनजस्तै थियो । क्व्होलासोथार गाउँपालिका–५ सिङ्दीका केशबीरको बायाँ आँखाले लामो समयदेखि देख्न छाडेको थियो । शौचालय जान पनि लौरोको सहारा लिनुपर्थ्यो ।

गाउँमै आयोजित मोतीबिन्दू शल्यक्रिया शिविरको पहिलो दिन डरले फर्किएका उनी दोस्रो दिन ज्वाइँको साथमा आएर शल्यक्रिया गराए । भारतीय भूपू सैनिकसमेत रहेका गुरुङले भने, ‘अप्रेसनपछि त संसारै झलमल्ल देखियो । जताततै उज्यालो देखियो ।’

सिङ्दीमा आयोजित शिविरले धेरै जेष्ठ नागरिकले दृष्टि फर्किएको छ । क्व्होलासोथार गाउँपालिका–८ घाम्राङका ८२ वर्षीय बखते कामी एक्लै शिविर आइपुगे । बायाँ आँखाले एक वर्षअघि पूर्णरुपमा देख्न छाडेका उनी दायाँ आँखाले पनि कम देख्थें । ‘छोराबुहारी छुट्टिएर बसेका छन्, पैसा पनि छैन,’ उनले शल्यक्रियापछि भने, ‘पहिला हिँड्नै गाह्रो थियो । अहिले त बाटो सललै देख्छु । हिँड्न पनि मिलेको छ ।’ 

Happiness when eyesight returns in old age

छिमेकी गाउँ पसगाउँकी ८२ वर्षीया एकल महिला सानुमाया गुरुङ दायाँ आँखाको शल्यक्रियापछि अक्षर प्रष्ट चिन्न थालेकी छन् । ‘तीन वर्षअघि पोखरा गएँ, पालो आएन,’ उनले भनिन्, ‘अहिले त्यहीँ अस्पतालका डाक्टरले गाउँमै एकै दिनमा उपचार गरिदिए । अब त अक्षर पनि पढ्न सक्छु ।’

शिविरमा पसगाउँकै ८८ वर्षर्यी गोपीमान गुरुङ, क्व्होलासोथार–२ मालिङकी ७३ वर्षीया सुमिन्द्रा घलेलगायतले पनि मोतीबिन्दुको शल्यक्रियापछि आँखाले देख्न थालेका छन् । कास्कीको मादी गाउँपालिका–८ पोसीका ६९ वर्षीय एकबहादुर गुरुङ साढे २ घण्टा हिँडेर शिविर आइपुगेका थिए । ‘पोखरा गएर उपचार गर्दा ३०–४० हजार खर्चिन्थ्यो,’ उनले भने, ‘म त हलो जोतेर खाने मान्छे । यहाँ सित्तैमा भयो ।’

सिङ्दीमा आइतबार र सोमबार सञ्चालन भएको शिविरमा क्व्होलासोथार–९ गिलुङका ७६ वर्षीय बुद्धिरास घर्ती, पसगाउँका ७९ वर्षीय कुमानसिंह गुरुङ र ७४ वर्षीय कूलप्रसाद गुरुङ, वडा ७ चरागाउँकी ६९ वर्षीय कुस्मी गुरुङ र ६१ वर्षीया ननसुब्बा गुरुङ, वडा ५ सिङ्दीकी ७० वर्षीय पातेंकासी गुरुङ, वडा ८ मपिङका करजङ गुरुङ, रुदरी गुरुङसहित ५४ जनाको मोतीबिन्दूको शल्यक्रिया गरिएको छ ।

Happiness when eyesight returns in old age

क्व्होलासोथार गाउँपालिकाको आयोजनामा मुटु फाउन्डेशन नेपाल र मनोज एशाेसिएसन फ्रान्सको व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखरा र आइकेयर फाउन्डेसनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरअघि मिदिमवारिका ५ वडामा स्क्रिनिङ गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले जानकारी दिए ।

शिविरमा महिला ३ सय ४४ र पुरुष ३ सय २८ गरी ६ सय ७२ जनाले आँखा जाँच सेवा लिएका छन् । तीमध्ये ३ सय जनालाई नजिक देख्न सकिने चस्मा वितरण गरिएको मुटु फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

हिमालय आँखा अस्पताल पोखराकी नेत्ररोग विशेषज्ञ डा. नारायणी भट्टराई रोकाका अनुसार दूरदराजका जेष्ठ नागरिकले विभिन्न कारणले मोतीबिन्दू पालेर बस्ने गरेका छन् । ‘सहर झर्न नसक्ने, झन्झट मान्ने अवस्थाका नागरिकका लागि गाउँमै शिविर गर्नु अत्यन्त प्रभावकारी हुन्छ,’ उनले भनिन् ।

Happiness when eyesight returns in old age

वडाध्यक्षहरूका अनुसार शिविरले स्थानीयको समय र पैसा दुवै जोगाएको छ । वडा ५ का अध्यक्ष गीतबहादुर गुरुङले सहर गएर उपचार गर्न नसक्नेले आफ्नै ठाउँमा सेवा पाएको बताए । वडा ७ का अध्यक्ष लक्षुमन गुरुङले आर्थिक तथा सामाजिक कारणले उपचारबाट बञ्चितका लागि शिविरबाट लाभ भएकाे बताए ।

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार स्थानीयको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता शिविर आयोजना गरिँदै आएका छन् । यसअघि मिदिमपारि क्व्होलासोथार–४ भुजुङमा आयोजित शिविरमा ६ सय ५८ जनाले सेवा लिएका थिए । मोतीबिन्दू भएका मात्रै ७८ जनाको शल्यत्रिया गरिएको थियो ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully