कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष १५ लाखको बिक्री

किमबोट गाउँमा उनको ३२० बोट सुन्तला छन् । यसमध्ये २५० बोटले फल दिइरहेका छन् । सुन्तलाको स्याहार सुसारका लागि उनी हरेक हप्ता गाउँ पुग्छन् ।

पुस ७, २०८२

रासस

Oranges abound in fields growing millet and corn: Sales worth 1.5 million this year

What you should know

ढोरपाटन — पछिल्लो समयमा बसाइँसराले गाउँ रित्तिँदै छन् । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित  किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुन् ।

१३ वर्ष अगाडि सुविधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन् । कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला । जिल्लामै अगुवा किसानका रुपमा परिचित कँडेलले बसाइँसरे पनि जग्गा जमिन र घर छोड्नु भएको छैन ।

किमबोट गाउँमा उनको ३२० बोट सुन्तला छन् । यसमध्ये २५० बोटले फल दिइरहेका छन् । सुन्तलाको स्याहार सुसारका लागि उनी हरेक हप्ता गाउँ पुग्छन् । कँडेलले सुन्तला खेती गर्न थालेको साढे तीन दशक बढी भयो ।

विसं २०४७ मा रु ३५ हजार लगानी गरेर सुरु गरेको सुन्तलाखेती अहिले फस्टाएको छ । हरेक वर्ष आम्दानी बढ्दै गइरहेको छ । २०४७ सालमा कँडेलले सुन्तलाखेती सुरु गर्दा बागलुङ जिल्लामै सडक आएको थिएन । स्थानीय कासीराम कँडेलले बिहुँ क्षेत्रमा सुन्तला खेतीको सुरुआत गरेका थिए । उनीबाटै सिकेर उनले सुन्तला लगाएका हुन् । साठी वर्षीय कँडेलले १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन् । 

गाउँको माया र सुन्तला खेतीप्रतिको मोहले गर्दा बागलुङ छोडेर टाढा बसाइँ नसरेको कँडेल बताउँछन् । वरपरका छिमेकीले धमाधम गाउँ छोडेपछि आफूले पनि परिवार लिएर बागलुङ बजार आएको उनको भनाइ छ । बिरामी पर्दा नजिक उपचार गर्न आशले मात्रै आफू बजार झरेको कँडेलले बताए । भएभरको सम्पत्ति गाउँमै रहेको जनाउँदै कँडेलले अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने आफू भएको बताए । 

‘औषधि पानी खाने अस्पतालको नजिक भनेर बजार झरेको, हाम्रो नातागोता र छरछिमेकी सबै तराईतिर गए, हामीहरु चाँही घर पायकपर्छ भनेर बागलुङ बजारमा आएको हो, यहाँबाट गाउँ नजिक छ, हरेक साता गाउँ जाने सुन्तलामा मल पानी लगाउने, गोडमेल गर्ने काम गर्छु’ उनले भने, ‘म बजारमा बस्ने भन्ने मात्रै मेरो मन दिनहुँ गाउँमा हुन्छ, गाउँमा धेरै सुन्तला छ, अझ यो बेला टिप्नका लागि तयार हुँदै छ, चोर लाग्ने डर हुन्छ ।’

कोदो, मकै फल्ने बारीभरी सुन्तला

अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गरे । मकै र कोदो उत्पादन गर्दा वर्षभरी खान नपुग्ने जनाउँदै अहिले सुन्तलाले जीवनस्तरनै परिवर्तन भएको कँडेल बताउँछन् । सुन्तला खेतीबाट छोराहरु पढाएको सुनाउँदै अहिले सबै जापाज, अमेरिका र पोर्चुगल रहेको उनको भनाइ छ । 

सुन्तलाखेती गर्न थालेपछि कुनै पनि जग्गा बाँझो राख्न नपरेको कँडेलले बताए । सुन्तलाखेती गर्दाका बखत सडकले गाउँ नजोडिएको भन्दै डोकोमा बोकेर बागलुङ बजार ल्याएर बिक्री गरेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताए । बसाइँसराइ गरेर तराई झरेकाहरुले पनि सुन्तलाको मायाले जग्गा जमिन नबेचेको उनले सुनाए । 

उनले भने, ‘सुरु सुरुमा ढोकोमा बोकेर बागलुङ बजार पुर्‍याउँथ्यौं, अहिले व्यापारी बारीमै आएर बगानै किन्छन्, बगानै बिक्री गर्दा हामीहरुले उचित मूल्य पाउन सक्दैनौं, व्यापारीलाई बगान नदिँदा बजार नपाएर कुहिने डर हुन्छ, राज्यले हाम्रो उत्पादनलाई उचित मूल्य दिएर बजारीकरण गरिदिने भए धेरै आम्दानी गर्न सकिन्थ्यो ।’

जिल्लाकै बढी सुन्तला फलाउने लोकनाथ 

उनी बागलुङ जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसान हुन् । उनले गत वर्ष १३ लाखको सुन्तला बिक्री गरेका थिए । भने यसवर्ष १५ लाखको बिक्री गरिसकेका छन् । थप दुई लाखको परिवारले खानका लागि राखेको कँडेलले सुनाए । तीस बोटबाट खेती सुरु गरेको जनाउँदै हरेक वर्ष नयाँ बिरुवा थप्दै गएको उनको भनाइ छ । 

हालसम्म करिब २५ लाख बढी लगानी गरिसकेको कँडेलले बताए । अहिले किमबोट गाउँमा सुन्तलाखेती नगर्ने कोही पनि नभएको उनको भनाइ छ । पछिल्लो समय बिहुँ क्षेत्र सुन्तला गाउँका रुपमा पचिरित हुँदै गएको उनी बताउँछन् । यस वर्ष चितवन र धादिङका व्यापारीले सुन्तला बगान खरिद गरिसकेको कँडेलले बताए । सुन्तलाको दाना बढ्ने बेला असिना पर्दा केही क्षति भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको उनको भनाइ छ ।

रासस

Link copied successfully