पोखराका सडक किनारबाट कवाडी र वर्कसप हटाउन ३५ दिने अल्टिमेटम

महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सहरी सौन्दर्यीकरण र ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याउने यस्ता व्यवसाय अन्यत्र स्थानान्तरण गर्न अल्टिमेटम दिएको हो।

पुस ७, २०८२

दीपक परियार

35-day ultimatum to remove carts and workshops from roadsides in Pokhara

पोखरा — पोखरा महानगरपालिकाले सहरका मुख्य राजमार्ग र प्रमुख सडक किनारमा सञ्चालित कवाडी सङ्कलन केन्द्र तथा वर्कसपलाई ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

महानगरले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सहरी सौन्दर्यीकरण र ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याउने यस्ता व्यवसाय अन्यत्र स्थानान्तरण गर्न अल्टिमेटम दिएको हो।

महानगरले पृथ्वी राजमार्गको कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा–बागलुङ राजमार्गको जिरोकिमीबाट फेदीसम्मका सडक खण्डमा सञ्चालित त्यस्ता व्यवसायलाई लक्ष्य गरी सूचना जारी गरिएको हो। ती क्षेत्रका सटर तथा खाली जमिनमा सञ्चालित कवाडी केन्द्र, वर्कसप, कारवास र ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको र वातावरणीय स्वच्छतामा प्रतिकूल प्रभाव परेको महानगरको ठहर छ।

‘मुख्य सडक किनारमा सञ्चालित यी व्यवसायले सहरी सौन्दर्यमा खलल पुर्‍याउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएका छन्,’ महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको ३५ दिनभित्र यी व्यवसाय अन्यत्र व्यवस्थापन नगरे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’

महानगरले सडक किनारमा रहेका हार्डवेयर पसल र डिपोलाई पनि सडकपेटीमा निर्माण सामग्री र साइनबोर्ड नराख्न सचेत गराएको छ। सडक अतिक्रमण गरी राखिएका सामग्रीले पैदलयात्रीलाई सास्ती भएको गुनासो आएपछि महानगरले यस्तो कदम चालेको हो।

महानगरपालिकाले यो निर्णय कार्यान्वयनका लागि घरधनी, स्थानीय व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई सहयोग र सहजीकरण गरिदिनसमेत अनुरोध गरेको छ। तोकिएको समयसीमाभित्र निर्देशन पालना नगर्ने व्यवसायीको हकमा महानगरले कडा कानुनी कदम चाल्ने चेतावनी दिएको छ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully