‘छोरी जन्मिएको खुसी त छँदै थियो, घरमै आएर पालिकाले दिएको कोसेलीको त बयानै गर्न सक्दिनँ,’ मुस्कुराउँदै मीनमायाले भनिन्, ‘अब त मेरो छोरी राम्ररी हुर्कने भइन् ।’
What you should know
लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका–८ घाम्राङबेसीमा एक बिहान फरक दृश्य देखियो । घरमा आँगनमा २० वर्षीया मीनमाया नेपाली र उनका श्रीमान् नवीन नेपाली नवजात छोरीको स्याहारमा व्यस्त थिइन् । त्यही बेला गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ लोकल कुखुराको भाले च्याप्दै उनको घर पुगे ।
साथमा अण्डा, घिउ, फलफूल, सरसफाइका सामग्रीलगायत बोकेर स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, अहेव राजु परियारलगायतको टोली थियो ।
मीनमायाको घरमा खुसी झनै झलमल्ल भयो । ‘छोरी जन्मिएको खुसी त छँदै थियो, घरमै आएर पालिकाले दिएको कोसेलीको त बयानै गर्न सक्दिनँ,’ मुस्कुराउँदै मीनमायाले भनिन्, ‘अब त मेरो छोरी राम्ररी हुर्कने भइन् ।’
यस्तै अनुभूति क्व्होलासोथार गाउँपालिका–९ गिलुङ चिसापानीकी ३२ वर्षीया सावित्री विकको पनि छ । साल्मे भञ्ज्याङ स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट दोस्रो सन्तान छोरी जन्माएकी उनले घरमै कोसेली पाएपछि खुसी महसुस गरिन् । ‘सरकारी सेवा त पाइयो, पाइराखेकै छ । घरमै कोसेली ल्याइदिँदा त के भनुँ र, धन्यवाद दिन शब्दै पुग्दैन,’ उनले भनिन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘सुत्केरी आमालाई पालिकाको कोसेली’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरबाट सुरक्षित सुत्केरी सेवा लिने आमालाई घरमै पुगेर कोसेली वितरण गरिन्छ । स्वास्थ्य शाखाका अहेव राजु परियारका अनुसार कोसेलीमा एउटा लोकल कुखुराको भाले, अण्डा एक क्रेट, फलफूल, दुई माना घिउ, काजु–बदाम–ओखर, एक लिटर शुद्ध तोरीको तेल, साबुन, टावेललगायत सरसफाइ सामग्री समावेश छन् । साल्मे भञ्ज्याङ स्वास्थ्य चौकी प्रमुख सन्तोष सुवेदीका अनुसार हालसम्म बर्थिङ सेन्टरबाट सेवा लिएका तीनजना सुत्केरी आमालाई कोसेली वितरण भइसकेको छ ।
कोसेली पाउनेमा क्व्होलासोथार गाउँपालिका–५ सिङ्दीकी २८ वर्षीया २८ वर्षीया शेषकुमारी गुरुङ पनि एक हुन् । ‘गाउँघरमा सबै कुरा एकैचोटी जुटाउन गाह्रो हुन्छ । पालिकाले एकैचोटी कोसेली ल्याइदियो, निकै खुसी छु । अब के पो दिने हामीले ?,’ उनले भनिन् । २७ वर्षीया ओनिसा गुरुङले भने सुत्केरी र नवजात शिशुप्रति पालिकाले देखाएको माया जीवनभर सम्झना रहने बताइन् ।
स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङका अनुसार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘यसवर्ष हालसम्म १० जना सुत्केरीलाई प्रतिव्यक्ति ८ हजार रुपैयाँबराबरको कोसेली वितरण गरिसक्यौं । सुत्केरीको रेकर्ड राखेर हामी आफैं घरमै कोसेली पुर्याउँछौं,’ उनले भने ।
संघीय सरकारले प्रदान गर्दै आएको ८ सय रुपैयाँ यातायात खर्च र २ हजार रुपैयाँ प्रोत्साहन रकम सबै सुत्केरीले पाउँछन् । त्यसमा पालिकाको कोसेली थपिँदा संस्थागत सुत्केरी सेवा अझ आकर्षक बनेको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको हो । ‘कतिपय सुत्केरी आमाहरू पोषिलो खानेकुरा खानको लागि घरपरिवारको आर्थिक अवस्थाले समस्यामा छन् । बढीमात्रामा आर्थिक अवस्था कमजोर भएकालाई लक्षित हाम्रो कार्यक्रम हो,’ उनले भने, ‘स्वस्थ आमा र स्वस्थ शिशु नै समृद्ध गाउँपालिकाको आधार हो ।’
गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङका अनुसार गाउँपालिकाअन्तर्गतका सबै बर्थिङ सेन्टरबाट सुरक्षित सुत्केरी सेवा लिने आमालाई समान रूपमा कोसेली दिने नीति लिइएको छ । ‘यसले सुत्केरी आमामात्र होइन, सिंगो समुदायमा सुरक्षित सुत्केरी सेवाप्रति सकारात्मक सन्देश फैलाएको छ,’ उनले भनिन् । गाउँपालिकाको कोसेलीले सुत्केरी आमाको अनुहारमा मुस्कान ल्याएको उनको भनाइ छ ।
