२३ वर्षपछि ‘पोखरेली नवरत्न सम्मान’

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ९ जनालाई पोखरा महानगर स्थापना दिवसको अवसरमा जनही २ लाख २ हजार २ सय, तक्मा र ताम्रपत्रले सम्मान गरिएको हो ।

पुस २, २०८२

दीपक परियार

'Pokhareli Navratna Award' after 23 years

What you should know

पोखरा — पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका ९ जना व्यक्तित्वलाई ‘पोखरेली नवरत्न सम्मान–२०८२’ ले सम्मान गरेको छ । स्थापना दिवस मूल समारोहका अवसरमा बुधबार महानगरले उनीहरूलाई जनही २ लाख २ हजार २ सय, तक्मा र ताम्रपत्रले सम्मान गरेको हो ।

नवरत्न सम्मान प्राप्त गर्नेमा नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ, वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ, स्वास्थ्य क्षेत्रबाट डा.बुद्धिबहादुर थापा रहेका छन् । पत्रकारिता क्षेत्रबाट तीलकमान गुभाजु, महिला उद्यमशीलता तथा सशक्तीकरणबाट रामकली खड्का र पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माणका परिकल्पनाकार एवं उद्योगी चन्द्रकान्त बराललाई पनि नवरत्न सम्मान प्रदान गरिएको छ । महानगरले खेलकुद र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि वीरेन्द्रसिंह गुरुङ, समाजसेवा र उद्यमबाट चन्द्रकृष्ण कर्माचार्य तथा शिक्षा र उद्योग क्षेत्रबाट हरि पाण्डेलाई नवरत्न सम्मान प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, महानगर प्रमुख धनराज आचार्य, छनोट समितिका संयोजक कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लगायतले सम्मान प्रदान गरे । वीरेन्द्रसिंह गुरुङ उपचारका क्रममा अमेरिका रहेकाले सम्मान समारोहमा उपस्थित हुन सकेनन् ।

विगत २३ वर्षदेखि अवरुद्ध रहेको यो सम्मानलाई महानगरले नयाँ कार्यविधि बनाएर पुनः संस्थागत रूपमा निरन्तरता दिएको हो । पोखरेली नवरत्न सम्मान पहिलोपल्ट ०५५ मा तत्कालीन पोखरा उपमहानगरपालिका प्रमुख कृष्ण थापाको सक्रियतामा सुरु भएको थियो । पहिलोपल्ट केशवराज पराजुली, झलकमान गन्धर्व, क्या.मीनबहादुर गुरुङ, झलक थापा, बुद्धिबहादुर श्रेष्ठ, अमृतप्रसाद शेरचन, डा.कुमार शम्सेर राणा, डा.भुवनरत्न स्थापित र अली मियाँलाई सम्मान गरिएको थियो । दोस्रोपल्ट ०५९ मा हरिध्वज तुलाचन, हेमबहादुर प्रधान, रञ्जित गुरुङ, सपना मल्ल, दुर्गा बराल, जर्ज जोन, कृष्णप्रसाद श्रेष्ठ, धर्मराज थापा र प्रज्ञारत्न बज्राचार्यलाई यो सम्मान प्रदान गरिएको थियो ।

०७२ मा पोखरा रत्नको रूपमा भाषाविद् मुकुन्दशरण उपाध्याय, साहित्यकार सरुभक्त र लोक गायिका हरिदेवी कोइरालालाई महानगरले सम्मान गरेको थियो । पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा समारोहमा पर्यटन प्रवर्द्धन योगदानका लागि डा.हर्क गुरुङ र संगीतकार प्रेमप्रकाश मल्ललाई मरणोपरान्त र साहित्यकार मुकुन्दशरण उपाध्यायलाई विशेष योगदान सम्मान प्रदान गरिएको थियो ।

पोखरा महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम पोखरेली नवरत्न सम्मान कार्यविधि–२०८२ तयार गरी लागू गरेको महानगर प्रमुख धनराज आचार्यले बताए । उक्त कार्यविधि २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित भएको थियो । छनोट समितिका सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार पोखरा महानगरमा स्थायी ठेगाना भएका र महानगरभित्र मतदाता नामावलीमा नाम भएका व्यक्तिलाई मात्र सम्मानका लागि योग्य मानिएको छ । सम्मानका लागि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, उच्च नैतिक चरित्र भएको, पोखरामा बसोबास गरी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिभा प्रदर्शन गरेको र पोखराको पहिचान अभिवृद्धि गरेको हुनुपर्ने व्यवस्था छ ।

नगर कार्यपालिकाको निर्णयअनुसार पूर्व सम्मानित कलाकार दुर्गा बराल ‘वात्स्यायन’को संयोजकत्वमा छनोट समिति गठन भएको थियो । समितिका अन्य सदस्यमा लेखक तथा अध्येता विश्व सिग्देल, प्राज्ञिक व्यक्तित्व नीता ताम्राकार, पत्रकार दीपेन्द्र श्रेष्ठ र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रहेका थिए । समितिले विभिन्न विधागत समावेशी हुने गरी छनोट गरी सिफारिस गरेको नामलाई १ पुसमा बसेको नगर कार्यपालिका बैठकले पारित गरेको थियो ।

पोखरा महानगरपालिकाले यसअघि २७ फागुनमा स्थापना दिवस मनाउँदै आएको थियो । तर, पोखरा नगरपालिकाका संस्थापक वडा अध्यक्ष रमेश सिग्देलको घरमा भेटिएको नेपाल गजेट भाग ४ मा प्रकाशित सामग्रीअनुसार पोखरा नगरपालिकाको स्थापना २ पुस ०१६ मा भएको पाइएकोले यसलाई आधार मानेर पहिलोपल्ट वास्तविक स्थापना मितिमा स्थापना दिवस मनाइएको महानगर प्रमुख आचार्यले बताए ।

नगरसभाद्वारा पारित नीति तथा कार्यक्रम एवम् पोखरेली नवरत्न सम्मान कार्यविधि–२०८२ अनुसार यस सम्मान अबदेखि प्रत्येक निर्वाचित कार्यकालमा एकपल्ट अर्थात् पाँच वर्षमा एकपल्ट प्रदान गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले भने, ‘महानगरपालिकाले यो सम्मानलाई पालिकाको सर्वोच्च सम्मानको रूपमा विकास गर्ने र यसलाई पहिलेको गोर्खा दक्षिणबाहु वा अहिलेको ‘नेपाल रत्न’ जत्तिकै महत्त्वपूर्ण र गौरवमय विभूषणको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।’

महानगरले तीन दिवसीय रूपमा स्थापना दिवस मनाएको हो । महानगरले बुधबार नै पोखरा–२८ आरुपाटाकी १ सय ७ वर्षीया झ्याउरी तिमिल्सिनालाई महानगर माता र पोखरा–२९ का १ सय ४ वर्षीय काशीनाथ पण्डितलाई महानगर पिताको रूपमा सम्मान गरेको छ । उत्कृष्ट कर्मचारी, उत्कृष्ट करदाता, शिक्षक, विद्यार्थी, विद्यालय, वडालाई पनि महानगरले पुरस्कृत गरेको छ ।

विसं २०१६ मा स्थापना भएको पोखरा नगरपालिका समयक्रमसँगै २०१७ मा नगर पञ्चायत, २०४७ मा पुनः नगरपालिका, २०५२ मा उप–महानगरपालिका, २७ फागुन २०७३ मा पोखरा लेखनाथ महानगरपालिका हुँदै २३ साउन २०७५ मा पोखरा महानगरपालिका नामकरण भएको हो । कुल ४६४.२४ वर्ग किलोमिटरमा फैलिएको पोखरा महानगरपालिका क्षेत्रफलका हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगरपालिका हो । भूगोलका हिसाबले यो काठमाडौं महानगरपालिका भन्दा ९ गुणा र ललितपुर महानगरपालिका भन्दा १४ गुणा ठूलो छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully