पाँच महिना बितिसक्दा पनि जीर्ण लमजुङ कारागार भवन मर्मत वा पुनः निर्माणको निर्णय हुन सकेको छैन, कैदी–थुनुवा अन्यत्र स्थानान्तरण छन्।
What you should know
लमजुङ — २०२८ सालमा निर्माण गरिएको लमजुङ सदरमुकाम बेंसीसहरस्थित लमजुङ कारागार असार ३२ गतेसम्म आइपुग्दा चार पटक भत्किसकेको छ। पहिले–पहिले मर्मत गरी सञ्चालनमा ल्याइँदै आएको लमजुङ कारागार पछिल्लो पटक भत्किएको पाँच महिना बितिसक्दा पनि मर्मतको कुनै सुरसार देखिएको छैन।
जीर्ण भवन, जीर्ण पर्खाल, भूकम्प र अविरल वर्षाका कारण कारागारको मुख्य गेट नजिकै पश्चिमपट्टिको पर्खाल भत्किएको हो। ३५ जना क्षमताको कारागारमा प्रायः एक सयभन्दा बढी कैदी–थुनुवा राखिँदै आएको थियो। पर्खाल भत्किँदा १०८ जना कैदी–थुनुवा थिए। पर्खाल कैदी–थुनुवातर्फ नभई कारागार प्रशासनतर्फ भत्किएकाले उनीहरू जोगिएका थिए।
कारागार भत्किएपछि प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका एक जनासहित १०९ जना कैदी–थुनुवालाई साउन ३ गते दमौली र पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो। लमजुङमा कारागार पूरै खाली गर्नुपरेको यो पहिलो घटना थियो। त्यतिबेला कैदी–थुनुवाले स्थानान्तरण हुन नमानेपछि तीन महिनाभित्र कारागार भवन मर्मत गर्ने आश्वासन दिएर उनीहरूलाई स्थानान्तरण गरिएको थियो। तर भत्किएको पाँच महिना बितिसक्दा पनि लमजुङ कारागार मर्मत हुन सकेको छैन।
कारागार प्रशासक बेनीबहादुर मोक्तानको भदौ ३१ गते सरुवा भयो। यही बीचमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको पनि सरुवा भयो। कार्तिक तेस्रो साता डा. टोकराज पाण्डे सरुवा भएर आए। केही दिनअघि मात्रै कारागार प्रशासक भीमकुमार बस्नेत सरुवा भएर आएका छन्। ‘म केही दिनअघि मात्रै आएको हुँ। कारागारबारे सबै जानकारी लिएर मर्मतका लागि पहल थाल्नेछु,’ उनले भने।
कारागार कार्यालय भत्किएपछि कारागार प्रशासनले साउन ४ गते लागत स्टिमेटसहित प्राविधिक सहयोगका लागि संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कास्कीलाई अनुरोध गरेको छ। भदौ ५ गते जिल्ला प्रशासन कार्यालयलाई संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीसँग सहजीकरणको लागि अनुरोध गरिएको छ। भदौ १६ गते भवन मर्मत वा पुनः निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोगका लागि पूर्वाधार विकास कार्यालयसँग अनुरोध गरिएको छ। पुनः निर्माण आवश्यक रहेको भन्दै भदौ २२ गते डीपीआरका लागि पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरिएको थियो।
‘मर्मतका लागि २०–२५ लाख बजेट लाग्ने भनिएको छ। पुनः निर्माणका लागि १७ करोड लाग्ने भनिएको छ। अहिलेसम्म मर्मत गर्ने वा पुनः निर्माण गर्ने भन्ने कुनै टुंगो छैन,’ यसबीचमा निमित्त कारागार प्रशासकको जिम्मेवारी सम्हालेकी नायब सुब्बा राधिका रेग्मीले भनिन्।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कारागार भवन मर्मतका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको बताए। ‘सोही ठाउँमा कारागार भवन पुनः निर्माण गर्न १७ करोड लाग्ने प्राविधिक स्टिमेट छ। बस्तीको बीचमा कारागार बनाउनु हुँदैन भन्ने मान्यता छ,’ उनले भने, ‘हामीले सहजीकरण गरिदिने हो। अहिलेकै ठाउँमा मर्मत गरेर कैदी–थुनुवा राख्नुपर्ने अवस्था आउन सक्छ। दीर्घकालीन रूपमा कारागार भवन अन्तै बनाउनुपर्छ।’
लमजुङको कुन्छाबाट सदरमुकाम बेंसीसहर सर्दा २०२८ सालमा ढुंगा–माटो प्रयोग गरी लमजुङ कारागार भवन निर्माण गरिएको थियो। स्थापनाकालमै कारागार निर्माण गरिएको हो। बेंसीसहर नगरपालिका–८, सेरामा रहेको यो कारागार २०७२ वैशाख ११ गतेको महाभूकम्पले चिराचिरा परेको थियो। यो कारागार जीर्ण मात्र नभई धरापमा रहेको कर्मचारी बताउँछन्।
भूकम्प र त्यसपछिका पराकम्पका कारण चिरिएको कारागारको उत्तरतर्फको पर्खाल २०७२ जेठ २९ गते भत्किएको थियो। त्यसअघि २०६९ साउन ४ गते पूर्वतर्फको पर्खाल भत्किएको थियो। पूर्वतर्फको पर्खाल २०६० सालमा भत्किएर मर्मत गरिएको स्थान नौ वर्षपछि पुनः भत्किएको थियो। यसअघि पनि कारागारका पर्खालहरू पटक–पटक भत्किएको बताइए पनि कारागार कार्यालयसँग त्यसको आधिकारिक रेकर्ड भने छैन।
