कांग्रेस मनाङले प्रतिनिधिसभाका लागि यसअघिका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको नाम टुंग्याए पनि प्रदेशमा भने सिफारिस गरेको छैन ।
लमजुङ — नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका साथै राष्ट्रिय सभा निर्वाचनका लागि १/१ जना उम्मेदवारको नाम टुंग्याएको छ ।
कांग्रेस मनाङले प्रतिनिधिसभाका लागि यसअघिका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको नाम टुंग्याए पनि प्रदेशमा भने सिफारिस गरेको छैन ।
कांग्रेस मनाङ सभापति शंकर गुरुङले प्रतिनिधिसभा समानुपातिकतर्फ चुम गुरुङ र राष्ट्रिय सभा सदस्यका लागि कर्मा गुरुङको नाम प्रदेश समितिमा पठाएको बताए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने सिफारिस गरिनसकिएको उनले बताए ।
‘हामी बैठक बसेका छैनौं, बैठक बसेर निर्णय गर्छौं र पठाउँछौं,’ उनले भने । कांग्रेस मनाङका एक जना पदाधिकारीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ यसअघिका सांसद टेकबहादुर गुरुङको नाम सिफारिस गर्ने गरी टुंगो लागेको बताए । ‘प्रत्यक्षतर्फ टेकबहादुर गुरुङको नाम टुंगिएको छ । सिफारिस पनि हुन्छ,’ उनले भने ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जिल्ला कार्यसमिति मनाङबाट प्रतिनिधिसभाको समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस भएर आएको बताए । उनका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएर आएको छैन । ‘उहाँहरूले उतै (केन्द्र) मा पठाउनु हुन्छ कि के गर्नुहुन्छ, थाहा छैन । हालसम्म हामीलाई सिफारिस आएको छैन,’ उनले भने ।
